काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन झण्डै दुई महिना पुग्न थालेको छ । यो अवधिमा भारतबाट अत्यावश्यक सामग्रीहरु भने आयात भइरहेका छन् । लकडाउन शुरु भएपछिको ५६ औं दिनसम्म करीब ३ अर्ब बराबरको तयारी औषधि आयात भएको छ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । बन्दाबन्दीपछि मंगलवारसम्म २ अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांकानुसार १ लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
बन्दाबन्दीपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उनका अनुसार पहिलो हप्ताको तुलनामा आठौं हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२ दशमलव ९, औषधिको कच्चापदार्थमा १९८ दशमलव ३ र तयारी औषधिमा ५७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दी भएपछिको हाल विद्यमान आठौं सातामध्ये खाद्यान्न पाँचौं साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौं साता र औषधिको कच्चा पदार्थ सातौं सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो ।
रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले बताएको छ । मंगलवारसम्म वीरगञ्ज एकीकृत जाँचचौकीबाट ३१२ ओटा ट्रक भित्रिएको, २७६ ओटा ट्रक बाहिरिएको र ६३३ ओटा ट्रक रोकिएका छन् ।
त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ओटा ट्रक भित्रिएको, ११५ ओटा ट्रक बाहिरिएको र ३ हजार ५९२ ओटा ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ५० ओटा ट्रक भित्रिएको, ४४ ओटा ट्रक बाहिरिएको र १८० ओटा ट्रक रोकिएका छन् ।
विराटनगर एकीकृत जाँचचौकीबाट २१७ ओटा ट्रक भित्रिएको, ११४ ओटा ट्रक बाहिरिएको र २५५ ट्रक उतै रोकिएका छन् भने विराटनगर सुख्खा बन्दरगाहमा एक ओटा ट्रक रोकिएको छ । काकरभिट्टा जाँचचौकीबाट ६८ ओटा ट्रक भित्रिएको, ५८ ओटा ट्रक बाहिरिएको र ३३ ओटा ट्रक रोकिएको छ । रासस