काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले विद्युत उत्पादन दोब्बर बढाएर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । हाल १ हजार ३८६ मेगावाट बिजुली उत्पादन भएकोमा यसलाई दोब्बर बनाउने नीति सरकारले लिएको हो ।
अवस्था सामान्य भएमा आगामी आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य पुरा हुने नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउँछन । चालु आर्थिक वर्षमा सकिने आयोजनाहरु आगामी वर्षदेखि बिजुली उत्पादन थाल्ने भएकाले सरकारको लक्ष्य पुरा हुने उनको भनाई छ ।
आगामी वर्ष सार्वजनिक तथा निजी लगानीमा निर्माणधिन आयोजनाहरु पुरा गरी १ हजार ६१४ मेगावाट थप गर्ने सरकारको योजना छ । यो समेत गरी जडित क्षमता ३ हजार मेगावाट पुग्ने छ । यी सबै आयोजना निजी लगानीमा निर्माण भइरहेका छन ।
कारोना भाइरसको महामारी कम भएर सहज अवस्था आउँछ त्यति नै छिटो आयोजना सम्पन्न हुने उनको भनाई छ । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीबाट १२३ मेगावाट बिजुली थप भएको छ ।
सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेनलगायत निजी क्षेत्रका दुई दर्जन बढी आयोजना सम्पन्न गरेर सो लक्ष्य पुरा गर्न लागेको हो ।
यो वर्ष आउने तयारीमा रहेका ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको तल्लोमोदी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको दोर्दी ए, २५ मेगावाटको सिंगटीखोला, ३० मेगावाटको न्यादी लगायत १७ ओटा आयोजना धकेलियर आगामी आर्थिक वर्षमा पुगेका छन ।
यी आयोजनाको काम लगभग सकिएर परीक्षण उत्पादनको क्रममा रहेको अधिकारीले सुनाए । यस्तै इलामको ९.६ मेगावाटको सुपरमाई ए आयोजना यो वर्ष आउने संभावना छ । असारदेखि अवस्था सहज भएमा यो आयोजनाबाट बिजुली उत्पादन हुने उनको भनाई छ ।