कहिलेसम्म सडकमा माटाेकाे ढिस्काेलाई 'कर्बस्टोन'काे मान्यता दिइरहने ? डीजी भन्छन्, ‘एक महिनाभित्र मापदण्ड ल्याउँछु’

account_box सुजन ओली ,
प्रकाशित: २०७७ जेठ २५, आइतबार ,११:२७:AM  
कहिलेसम्म सडकमा माटाेकाे ढिस्काेलाई 'कर्बस्टोन'काे मान्यता दिइरहने ? डीजी भन्छन्, ‘एक महिनाभित्र मापदण्ड ल्याउँछु’

काठमाडाैं । सतप्रतिशत कच्चा पदार्थ त स्वदेशी छँदै छ । वातावरण प्रदूषण पनि शून्य । परम्परागत इँटाको तुलनामा ५ गुणा बलियो र खेतीयोग्य जमिनलाई संरक्षण गर्दै दैनिक हजारौँ ‘कङ्क्रिट इँटा’ बनाइरहेको छ– एसियन कङ्क्रिटो फेयरफेस ब्रिक्स प्रालिले ।

झट्ट हेर्दा कलरका हिसाबले बाहिरी आवरण माटोकै इँटाजस्तो देखिन्छ  तर, यसको मुख्य कच्चा पदार्थ भनेको गिटी र बालुवा हो । गिटी र बालुवालाई अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कङ्क्रिट इँटा बनाइन्छ । ‘यसमा माटो मिसाइएको हुँदैन, यही कच्चा पदार्थ प्रयोग गरेर बनेको इँटा हुन्,’ गोदाममा रहेको गिटी र बालुवाको थुप्रो देखाउँदै लगानीकर्तामध्येका एक राजेश अग्रवालले भने, ‘यसैलाई पेलेर, थिचेर इँटा बन्छ ।’ 
उनले भनेजस्तै त्यहाँ टनका टन बालुवा र गिटी थुपारिएको छ । त्यसैको छेउमा बनेका इँटा पनि लहरै राखिएका छन् । परम्परागत इ“टामा जस्तो कतै चिम्नी पनि छैन, न खेत खनेर सिध्याइएको नै छ । चिम्नी नै नभएपछि प्रदूषण हुने कुरै भएन । 

यसरी परीक्षण गरिएकाे कर्बस्टाेन प्रयाेगमै ल्याइँदैन । 

एसियन कङ्क्रिटोले इ“टासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । ‘सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र गार्डेनलाई सुन्दर बनाउनेसम्म सामग्री बनाइरहेका छौ,’ आफ्नो उद्योगबाट उत्पादित सामान देखाउँदै अर्का लगानीकर्ता मनीष रुङ्गाटाले भने, ‘बलियो, सुन्दर र प्रकृतिको संरक्षण गर्न हामीले एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर जर्मनी प्रविधि भित्र्याएर सामान बनाइरहेका छौ“ । तर, सरकारले नियम नबनाउँदा हाम्रो सामान गोदाममै थन्किएका छन् ।’ 

उद्योगबाट उत्पादित सामग्री राख्ने ठाउँ अभाव हुन थालिसकेको छ । पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्योगमध्ये अधिकांश ठाउँमा त उत्पादित सामग्री राखिएको छ । सामान राख्ने ठाउँ नहुने भएपछि अहिले उद्योग २५ प्रतिशत क्षमतामा चलाइएको छ । 

एसिएन कंक्रिटाेले जर्मन प्रविधिद्वारा उत्पादन गरेकाे कर्बस्टाेन गाेदाममै थन्किएकाे छ 

‘बजारबाट सामग्रीको माग नै आउँदैन । बजारबाट माग नआउने र उद्योगलाई आफ्नो क्षमताअनुसार चलाउने हो भने सामान राख्ने ठाउँ हुँदैन,’ रुङ्गाटा भन्छन्, ‘अहिले उनीहरुले देखाउन मात्रै उद्योग चलाइरहेका छन् ।’ 

यो प्रविधि नेपालमा पहिलो पटक लगाइएको हो । जर्मनी, फ्रान्सलगायत युरोप, मध्यपूर्व र चीनमा करिब १ सय वर्षअघि नै यही प्रविधिबाट उत्पादित सामग्री प्रयोग गरिरहेका छन् । उनीहरुले एक सय वर्षअघि नै चिम्नी इँटाभट्टाको विस्थापन गरिसकेका हुन् । 

यतिसम्म कि, भारतका धेरै प्रदेश सरकारले समेत परम्परागत इँटाभट्टा बन्द गरिसकेका छन् । त्यहाँ पनि यही प्रविधिमार्फत उत्पादित इ“टा प्रयोगमा ल्याइरहेका छन् । 

जर्मनी कम्पनी मासाबाट मेसिनसहित प्रविधि ल्याएर नेपालमा लगाएको ४ वर्ष भइसकेको छ । डेढ वर्षदेखि उत्पादन बजारमा आइरहेको छ । उक्त उद्योगबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि बजारीकरण हुन नसकेकामा लगानीकर्तालाई चिन्तित तुल्याएको छ । सडकको दुवै छेउमा प्रयोग गरिने कर्बस्टोनदेखि गार्डेन, सडकपेटीमा प्रयोग गर्ने सामग्री हुँदै घर बनाउन प्रयोग गरिने इ“टासमेत बनाइरहेका छन् । तर, उनीहरुको सामान अहिले पनि गोदाममै थन्किएर बसेको छ । 

देशमा यति ठूलो निर्माण कार्य चलिरहँदा पनि उनीहरुको सामानले स्थान पाएको छैन । सरकारले गुणस्तरमा ध्यान नदिँदा सडक छेउछेउमा राखिने ‘कर्बस्टोन’ माटोको ढिस्को बनाएरसमेत राखेका छन् । दुर्घटनाबाट जोगाउन प्रयोग गरिने कर्बस्टोन प्रयोग गरिन्छ । ‘सुरक्षाको दृष्टिकोणले राखिने वस्तु माटोको डिस्को हुँदा त्यसबाट कसरी सुरक्षित हुन्छ,’ एसियाली विकास बैंकको सहयोगमा बनिरहेको सडकपेटीमा राखिएको कर्बस्टोन देखाउँदै एसियन कङ्क्रिटोका डाइरेक्टर अनिल जाटियाले भने, ‘यस्तो सामग्री राखेर पैसा सिध्याउने काम मात्रै भएको छ । माटोको डिस्को बनाएर पैसा स्वाहा पारिएको छ ।’ 

बजारमा प्रयोग भइरहेका निर्माण सामग्रीको तुलनामा हाम्रो उत्पादनको गुणस्तर अत्यधिक छ । हाम्रो उत्पादनको गुणस्तर जर्मनीबाट परीक्षण भइरहेको छ । गुणस्तरीय सामग्री प्रयोग बानी बसाल्न हरेक मन्त्रालय, विभाग, ठेकेदारसम्म पुग्दा पनि केही नलागेको लगानीकर्ता बताउँछन् । 
‘हाम्रो सामानको स्ट्रेन्थ देखाएका छौ । यति वर्ष यसको आयु हुन्छ भनेर बुझाएका छौ“ तर पनि माल बेच्न सकेनौ',’ अग्रवालले भने, ‘गुणस्तरीय सामान बनाएर, विश्वमा भएको प्रविधि नेपाल ल्याएर गल्ती गर्याै, कि भन्ने महसुस भइरहेको छ ।’ 

‘भारतमा पनि यो प्रविधिको प्लान्ट दुइटा मात्र छ । हामीले गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता देखाएपछि मात्रै जर्मनीले यो मेसिन दिएको हो,’ उनले भने, ‘उनीहरुले अहिले पनि उद्योगका गतिविधिलाई परिसरमा रहेका ३६ क्यामेराबाट निरन्तर हेरिरहेका छन्, प्राविधिक सहयोग गरिरहेका छन् । तर, हामीले जुन हिसाबले नेपालमा प्लान्ट लगायौ', त्यसअनुरुप प्रतिफल आएन ।’ 

उनीहरुले उद्योग लगाउँदा सोचेका थिए– देशमा पुनर्निर्माण भइरहेको छ । पूर्वाधार विकास धमाधम चलिरहेको छ । ठूल्ठूला एयरपोर्टदेखि सडक बनिरहेका छन् । निजी आवासदेखि सरकारी आवास निर्माण कार्य पनि द्रुत गतिमै चलिरहेको छ । यस्तो बेला यो उद्योग लगायो भने उद्योगबाट उत्पादित सामग्री बिक्री हुन्छ । र, बलियो सामग्री पनि हुन्छ । तर, परिणाम त्यसको ठीक उल्टो भयो– उनीहरुको उद्योगबाट उत्पादित सामग्री कुनै पनि ठेकेदारले लिएनन् र कुनै ठूला पूर्वाधारमा प्रयोग भएन । त्यही गुणस्तरहीन सामान राखेर पूर्वाधार निर्माण भइरहेको रुङ्गाटा बताउँछन् ।  

उद्योगबाट उत्पादित ब्लक फुटपाथ र भित्री बाटोमा प्रयोगका लागि उपयुक्त भएको बताउँछन् । ‘धेरै पानी जम्ने ठाउँमा र धेरै धुलो हुने ठाउँमा धुलो नियन्त्रणका लागि पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका अतिरिक्त घरको वाल तथा पार्किङ एरियाका लागि पनि आकर्षक देखिन्छ ।’

दैनिक २ लाख ९ सय ५० हजार वर्गफुट इँटा उत्पादन क्षमता भएको उद्योग अहिले त लकडाउनका कारण पूर्ण रुपमा बन्द छ । बजार अभाव भएका कारण उनीहरुले सामान्य समयमा पनि २५ प्रतिशत भन्दा बढी क्षमतामा उत्पादन गरेका छैनन् । फुल फेजमा उद्योग चलाउँदा इ“टाको उत्पादन बढ्ने र गोदाममै थुप्रिने समस्या हुन्छ । ‘यसको बजार छैन, हरेक दृष्टिले उत्कृष्ट उत्पादन हुँदाहुँदै पनि यसको माग बढ्न सकेन ।  त्यसैले उत्पादन घटायौ“,’ उनले भने । 

धेरै सडक, भवन, पार्कजस्ता सरकारी योजनामा प्रयोगका लागि आग्रह गरिरहे पनि चासो नदेखाएको उनीहरुको गुनासो छ । ‘यो इँटा बलियो र उत्तिकै आकर्षक पनि छ तर ठेकेदारका भरमा हुने योजनामा सरकार आफै गुणस्तरमा चासो देखाउँदैन,’ जाटियाले भने, ‘ठेकेदारले गुणस्तरीय वस्तु रोज्दैन । सरकार गुणस्तरमा कडाइ गर्दैन, जसले गर्दा हामीजस्ता उद्योगी मारमा परिरहेका छौ“ ।’ 

उद्योगबाट उत्पादित हरेक उत्पादनको मूल्य सामान्य वस्तुसरह नै रहेको छ । खासगरी इँटाको मूल्य त परम्परागत भट्टीबाट निकालिएको भन्दा सस्तो छ । परम्परागत इँटामा तीनवटा ग्रेड हुन्छन् । तर, यहाँ एउटा मात्रै ग्रेड हुन्छ । सबै इँटाको मूल्य र गुणस्तर समान छ ।  

त्यहाँबाट उत्पादित इँटाको साइज ठूलो छ । अहिले बजारमा भइरहका पाँच सय इँटाले गर्ने काम यहाँबाट उत्पादित चार सय भए पुग्छ,’ रुङ्गाटाले भने, ‘आम ग्राहकमा पनि माटोकै इ“टा प्रयोग गर्ने बानीका कारण ध्यान कम पुगेको देखिन्छ । विस्तारै बुझ्दै छन् ।’ 

माटोको सामान्य इँटाको क्षमता तीन एमपीए हुने गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । तर, एसियन कङ्क्रिटोबाट उत्पादित इँटा १५ एमपीए क्षमताको पाइएको विभागले जनाएको । उनीहरुले उत्पादन गरेको सामग्री जर्मनीमा रहेको मासा कम्पनीले पनि प्रत्येक दिन गुणस्तर परीक्षण गर्छ ।  

यस्तै, बाटो तथा सडकपेटीमा प्रयोग हुने अन्य टायलको क्षमता १० देखि २० एमपीएसम्म हुने तर यो टायलको क्षमता ३५ देखि ६० एमपीएसम्म भएको उद्योगको दाबी छ । ‘हाम्रा हरेक उत्पादनको गुणस्तर मेसिनबाट मापन हुन्छ,’ जाटियाले भने, ‘धेरै विकसित मुलुकमा यसको प्रयोग भएको पनि सर्वसाधारणले देखेका होलान् ।’

नेपालमा उपलब्ध यस्ता उत्पादनको कम्प्रेसिव स्ट्रेन्थ हालसम्म एम १०, एम १५ र एम २० मात्र रहेको छ । तर, एसियनबाट उत्पादित वस्तुको कम्प्रेसिव स्ट्रेन्थ न्यूनतम एम ३५ भन्दा बढी हुने भएकाले कम्तीमा १ सय ५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाउने गरिएको जनाएको छ । उत्पादित वस्तु मजबुत, बलियो, टिकाउ हुने गरेको उद्योगको दाबी छ ।

कम्प्रेसिव स्ट्रेन्थ भएका वस्तुबाट पार्किङ, सडक, आँगन, वेयरहाउस, मल, व्यापारिक भवन, होटल रिसोर्टको बाहिर प्रयोग गर्न सकिनेछ । एसियनका उत्पादित ब्लक प्रयोगबाट सडक निर्माण गर्न सकिए कम्तीमा २०÷२५ वर्ष ढुक्क हुने उद्योको दाबी छ । 

उद्योगबाट उत्पादित वस्तुको कम्प्रेसिव स्ट्रेन्थ लोकल मेसिन र फर्माबाट बन्ने अन्य स्थानीय उद्योगका वस्तुको भन्दा तुलनात्मक रुपमा कम्तीमा ५ देखि ६ गुणा बढी भएकाले मूल्य केही प्रतिशत बढी भएको उद्योगले जानकारी दिएको छ । 

उद्योगले गुणस्तरीय उत्पादन र रोजगारीको अवसर दिए पनि सरकारी तवरबाटै असहयोग भएको लगानीकर्ताको गुनासो छ । ‘पहिलो कुरा त आन्तरिक योजनामा हाम्रा उत्पादनलाई प्राथमिकता दिने काम भएन,’ उनले भने, ‘अर्काेतिर भारतमा बजार विस्तार गर्न सकिनेमा भारतीय भन्सार नीतिका कारण अप्ठेरो परेको छ ।’

सरकारले भारतमा निर्यातका लागि सहजीकरण गरिदिए उत्पादन बढाउन सकिने उनको तर्क छ । ‘प्रतिवर्गफुट लागत ५० रुपैयाँ पर्छ तर भारत निर्यात गर्दा त्यसलाई मार्बलकै श्रेणीमा राखेर ३ सय ५५ रुपैयाँ भन्सार लाग्छ,’ लगानीकर्ता अग्रवालले भने, ‘५० रुपैयाँ लागतको वस्तुलाई बजारमा चार सयभन्दा बढी तिर्नुपर्ने भएपछि बिक्री सम्भव हुने कुरै भएन ।’ 

७० प्रतिशत बैंकमार्फत लगानी गरेको र कम्तीमा ६० देखि ७० प्रतिशत क्षमतामा उत्पादन नहुँदासम्म लागत नउठ्ने बुझेका उनी विस्तारै पुरानो जोश हराउँदै गएको बताउँछन् । तर, केही आशा भने जीवितै छ । भन्छन्, ‘बुझ्न समय लाग्ला । हामीलाई हाम्रो कामप्रतिको विश्वासले बलियो बनाइराखेको छ ।’

चिम्नी भट्टा कृषियोग्य भूमि सिध्याउँछ, यसले बचाउँछ

कम्पनी आफैले गरेको अध्ययनअनुसार परम्परागत इँटाभट्टाबाट २ लाख इँटा उत्पादन गर्न झन्डै १० रोपनी खेत मास्नुपर्छ । एउटा इँटाको तौल करिब–करिब ३ किलो हुन्छ । २ लाख इँटा भनेको पाँच लाख किलो माटो हो । 

सामान्यतया इ“टा बनाउन चाहिने माटो निकाल्नका लागि एकदेखि डेढ मिटर खेत खनिन्छ । पाँच मिटरको एक रोपनी हुन्छ । पाँच हजार वर्गमिटर खेत खनिन्छ । एक घनमिटर खनियो भने त्यो करिब एक टन बराबर हुन्छ । पाँच लाख किलो भन्नुको मतलव पाँच हजार टन भयो । १० रोपनी खेत खनियो भने २ लाख इ“टा उत्पादन हुन्छ । 

‘यो हिसाबले वार्षिक कति खेतीयोग्य जमिन मास्दै जाने ?’ अग्रवाल भन्छन्, ‘अहिले देशमा जति पनि इ“टाभट्टा खोलिएका छन्, ती सबैले खेतीयोग्य भूमिलाई नष्ट गरिरहेका छन् ।’ 

उनीहरुले गरेको अध्ययनअनुसार तराईमा जहा“ एउटा भट्टा छ, त्यसको वरपरको १० बिघा खेत स्वाहा बनाइएको छ । इँटा बनाउन माटो निकालिएपछि त्यहाँ कुनै खेती लगाउन सकिँदैन । त्यो जमिनबाट एक दाना पनि धान, गहुँ मकै केही हुँदैन ।

युपी र बिहारमा धमाधम इँटाभट्टा बन्द गरिँदै

खेतीयोग्य जमिन सिद्धिदै जान थालेपछि भारतका युपी र बिहार सरकारले चिम्नी भट्टा विस्थापित गर्न लागेका छन् । त्यहाँका मुख्यमन्त्रीकै सक्रियतामा अल्टरनेटिभ ब्रिक्सको खोजी सुरु भएको छ । युरोपतिर माटोको इ“टा पूर्ण रुपमा विस्थापित भइसकेको छ । भारतका धेरै राज्यमा पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाइसकेको छ । 

एक महिनाभित्र एनएस आउँदै 
सडकमा प्रयोग भइरहेका कर्बस्टोनको गुणस्तर सम्बन्धी नेपाल गुणस्तर (एनएस) अहिलेसम्म नभएपछि गुणस्तर तथा नापतौल विभागले एक महिनाभित्र यसको एनएस ल्याउने तयारी गरेको छ । 

‘लकडाउन नभएको भए यस अघि नै एनएस आइसक्थ्यो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘लकडाउनका कारणले रोकिएको हो । आगामी एक महिना भित्र एनएस बजारमा आइसक्छ ।’ 

सडक पेटीमा प्रयोग हुन कर्बस्टोन गुणस्तरहीन छन् । तर, अहिले बजारमा कर्बस्टोन बनाउने नयाँ नयाँ उद्योग आइसकेका छन् । गुण्स्तरहीन कर्बस्टोनको मूल्य सस्तो हुने भएकाले ठेकेदारहरुले त्यही सामग्री प्रयोग गर्ने गरेको विभागको भनाइ छ । त्यही कार्यलाई रोक्न कर्बस्टोनको स्टयाण्डर्ड बनाउन लागिएको उनको भनाइ छ । 
 

सुजन ओली

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top