काठमाडौ । उद्योगले साउन १ गतेदेखि उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघमा भेला भएर सम्पूर्ण उद्योगीले भोली (साउन १) बाट उधारोमा सिमेन्ट नबेच्ने सहमति गरेका छन् । उधारो, मूल्य, बोनस र कमिसनमा समेत अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उद्योगीले सम्पूर्ण कारोबार नगदमै गर्ने निर्णय भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले क्यापिटल नेपालालाई जानकारी दिए ।
अबउप्रान्त उद्योगीले अनिवार्य नगदमा बेच्नुपर्ने छ । सिमेन्ट उद्योगीको बजारबाट उठ्नु पर्ने उधारो नै झण्डै झण्डै खर्ब रुपैयाँ पुग्न लागेपछि उनीहरुले यस्तो निर्णय गरेको थापाले बताए ।
सम्पूर्ण बिक्री कारोबार नगदमा गर्नुपर्ने छ । निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी (बीजी) वा एल/सी लिई मात्र दिनुपर्ने छ । उधारोको लिमिट विजी/एलसी भित्र रही अधिकतम उधारो समय ६० दिनसम्मको मात्र हुनुपर्ने निर्णय गरिएको छ ।

बार्षिक स्किम, मासिक स्किम, बोनस, जुनसुकै नाममा स्किम, बोनस कमिसन आदि दिएता पनि सोको अधिकतम सीमा रु २० प्रतिबोरामा ननाघ्ने गरी दिनुपर्ने निर्णय गरिएको छ । र सो रकम भुक्तानी गर्दा अनिवार्य रुपले कर कट्टी गर्नुपर्ने छ । यसबाहेक सुनचाँदी, हिरामोती, विदेश टूर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि समेत राख्न पाइने छैन ।
उद्योगहरुले आफ्नो साउन१ गते भन्दा पहिलाको बाँकी रकम उठाउन नसकेको अवस्थामा उधारो लिने ग्राहक÷डिलरको नाम लिस्ट (उधारो असुली संयन्त्र) मा जानकारी गराउनुपर्ने निर्णय गरिएको छ । सो असुलीका लागि अन्य सबै उद्योगहरुले सहयोग गर्नुपर्ने पनि निर्णय गरिएको छ । त्यस्ता ग्राहक तथा डिलरहरुका लागि असुली समितिले कालो सूचीमा राख्न सक्ने छ । र यस अवस्थामा त्यस्ता ग्राहक तथा डिलरहरुसँग अन्य कुनै पनि सिमेन्ट उद्योगले कारोबार गर्न नपाउने निर्णय गरिएको थापाले जानकारी दिए ।
उधारो असुली संयन्त्रमा कम्तिमा एक जना सीए, एक जना कानुन अधिकृत र एक जना प्रशासकीय अधिृकत रहने छन् । र सो संयन्त्रलाई विशेष अधिकार समेत प्रदान गरिने समेत निर्णय भएको छ । साथै सो संयन्त्रलाई अनुगमन गर्न उद्योगीहरुबाट एक अनुगमन समिति पनि गठन गरिने छ ।
सर्त पालना नगर्ने उद्योगले जरीवाना स्वरुप निर्णय उल्ङ्घन भएको महिना भन्दा अघिल्लो महिना विक्री गरेको कुल सिमेन्ट बोराको प्रतिबोरा ५० पैसाका दरले बुझाउनुपर्ने छ ।
याे पनि पढ्नुस्,: लकडाउनले सिकाएको पाठः व्यवसायीले गरे उधारो बन्द, उपभोक्ताले पाउन थाले सस्तोमा सामान