काठमाडौं । बजारमा रहेको उधारो उठाउन नसकेर हैरान भएका उद्योगी/व्यवसायीले लकडाउनपछि नगदमै सामान बेच्न थालेका छन् । यसले उपभोक्तालाई ठूलो फाइदा पुगेको छ ।
अस्वस्थ प्रतिस्पर्धाले गर्दा धमाधम उधारोमा सामान पठाउने गरेको उद्योगीले लकडाउनपछि उधारो पूर्ण रुपमा बन्द गरेर नगद लिएर मात्रै डिलर वा डिपोलाई सामान बेच्न थालेका छन् ।
‘यसले एकातिर उद्योगको लगानी जोखिममा पर्ने भएन भने अर्को तिर उपभोक्ताले पनि सस्तोमा सामान पाउने भए,’ मुरारका अर्गनाइजेसनका अध्यक्ष पशुपति मुरारकाले भने, ‘अहिले उद्योगीले नगद लिएर मात्रै सामान बेच्न थालेका छन् । यसले उपभोक्तालाई ठूलो फाइदा मात्रै पुर्याएको छैन् । बैंकलाई पनि ठूलो राहत पुग्छ ।’
उद्योगीले बजारमा फसेको खर्बौ रुपैयाँ उधारो उठाउन नसकेपछि उधारो पूर्ण रुपमा बन्द गरेका हुन् । अर्घाखाँची सिमेन्टका सञ्चालक समेत रहेका मुरारकाले नगदमै सामान जान थालेपछि बैंकले पनि समयमै ऋण ब्याज प्राप्त गर्ने र उपभोक्ताले पनि ५ प्रतिशत सस्तोमा सामान पाइरहेको बताए ।
‘उधारोमा सामाने दिने वित्तिकै उद्योगीले १० प्रतिशतसम्म मूल्य बढाएर दिने गर्छन्,’ अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले भने, ‘जब नगदमै कारोबार हुन्छ, तब अतिरिक्त मूल्य नजोडी सामान बेच्छन्, र उपभोक्तालाई ठूलो राहत हुन्छ ।’
‘लकडाउनअघि डिलरवालाहरुले आफ्नो क्षमता भन्दा बढी सामान लैजाने, सामान बेच्ने र त्यो पैसा घरजग्गामा हाल्ने, उद्योगीलाई सामानको पैसा नतिर्ने गर्थे,’ न्यौपानेले भने, ‘तर, अहिले जति सामान लैजान्छन्, त्यसको नगद पनि दिन्छन्, यसले बैंक, उद्योगी, उपभोक्ता र डिलरवालाई पनि फाइदा भएको छ ।’उद्योगी/ व्यवसायीका अनुसार अहिले बजारमा पर्याप्त तरलता पनि आएको छ ।
डिलरवालाले जति सामान बिक्री गर्न सक्छ, सोही परिमाण मात्रै पैसा तिरेर लैजाने गरेको छ । तर, यस अघि अन्धाधुन्ध सामान लैजाने गरेका थिए । तर, अहिले सम्पूर्ण उद्योगी/ व्यवसायीले उधारो दिन ठप्प गरेपछि नगदमै सामान किन्ने प्रवृत्ति बढेको हो ।
उद्योगीले उधारोमा सामान दिने तर डिलरवालाहरुले नगदमा समान बेच्ने गर्थे । त्यहाँबाट आएको पैसा उद्योगीलाई दिने भन्दा पनि घरजग्गामा लगानी गर्ने प्रवृत्ति बढेको थियो । त्यसैका कारण देशमा प्रमुख सहरमा घरजग्गाको मूल्य पनि आकासिएको थियो ।