काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड जलविद्युतमा लगानी विस्तार गरेकोे छ । एनआरएनले हालसम्म १४२ मेगावाट क्षमताका ४ ओटा जलविद्युत आयोजनामा लगानी गरेको छ । १३० मेगावाटका ३ आयोजनामा लगानीको तयारी गरेको छ ।
यी आयोजना निर्माणधिन छन । विभिन्न ४ ओटा आयोजनाहरुमा एनआरएनले ५६ करोड ६८ लाख रुपैयाँ सेयर लगानी गरेको छ । आयोजनाहरु निर्माणधिन अवस्थामा छन ।
हिमालयन पावर पाटर्नर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो मंसिरभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुने छ । एनआरएनले आयोजनामा ३८ करोड ३ लाख रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता सेयर खरिद गरेको छ । आयोजनाको लागत ४ अर्ब ४९ करोड रुपैयाँ छ ।
सानिमा मिडिल हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाटको मिडिल तमोर आयोजनामा एनआरएनले ६ करोड ४० लाख रुपैयाँ लगानी गरेको जानकारी दिएको छ । आयोजनाको लागत १२ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट आगामी सन २०२१ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ ।
यसैगरी स्वेत गंगा हाइड्रोपावर एन्ड कन्ष्ट्रक्सन लिमिटेडले निर्माण गरिरहेको २८.१ मेगावाटको लिखु जलविद्युतमा १० करोड रुपैयाँ सेयर लगानी गरेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने छ । लिखु आयोजना बनाउन ५ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
माथिल्लो मैलुङ्गखोला जलविद्युत लिमिटेडले प्रवद्र्धन गरेको १४.३ मेगावाटको माथिल्लो मैलुङ्गखोला आयोजना निर्माणधिन छ । मैलुङ्ग आयोजना आगामी २०७८ को असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको लागत २ अर्ब ५० करोड रुपैयाँ छ ।
एनआरएनले १३० मेगावाटका ३ आयोजनामा लगानीको तयारी गरेको छ । जलविद्युतमा थप लगानी गर्न कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँ बराबरको ३३ लाख ९८ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । यो रकम प्रस्तावित ३ ओटा आयोजनामा लगानी गर्ने एनआरएनले जनाएको छ ।
एनआरएनले साउन १६ गतेदेखि आईपीओ निष्कासन गर्दै छ । एनआरएनले प्रस्तावित आयोजनामा गर्ने लगानी रकम खुलाएको छैन । प्रस्तावित ३ ओटा आयोजनाको विस्तृत इन्जिनियरिङ्ग (डीपीआर) को काम भइरहेको छ ।
एनआरएनले २१.३ मेगावाटको ठुलोखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको आयोजनाको लागत ३ अर्ब ५२ करोड रुपैयाँ छ । यो आयोजना बनाउन ३ वर्ष लाग्ने छ ।
यस्तै सानिमा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ५६ मेगावाटको जुमखोला आयोजनामा पनि सेयर लगानी गर्ने भएको छ । आयोजना बनाउन १० अर्ब ४३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काम सुरु भएको ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
हाइड्रो सर्पोट प्रालिले निर्माण गर्न लागेको ५३.५३ मेगावाटको मिडिल कालिगण्डकी आयोजनामा एनआरएनको लगानी हुने भएको छ । आयोजना बनाउन १० अर्ब ६९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काम सुरु भएको ४ वर्षमा सकिने छ ।
कम्पनीले जलविद्युतका साथै बैंक र बिमामा पनि लगानी गरेको जानकारी दिएको छ । एनआरएनले हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल), सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैक, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, वरुण हाइड्रोपावर लिमिटेड, अरुण कावेली पावर लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत १० ओटा कम्पनीमा लगानी गरेको जानकारी दिएको छ ।
कम्पनीको चुक्तापुँजी ७९ करोड २८ लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि एनआरएनको पुँजी बढेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँ पुग्ने छ । कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ ।
कम्पनीले जलविद्युत आयोजना निर्माण, परामर्श सेवाका साथै ठुला रेल, सडक, बीमामा लगानी गर्ने योजना बनाएको छ । एनआरएनमा जीवा लामिछाने, शेष घले र उपेन्द्र महतो संस्थापक लगानीकर्ता हुन ।