काठमाडौं। जेनजीको आन्दोलनसँगै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट, शंकर ग्रुपका संचालक साहिल अग्रवाल र जेन जेडका अगुवा सुदन गुरुङबारे भएका भ्रामक समाचारप्रति खण्डन गरिएको छ।
‘हामी नेपाल’मार्फत गुरुङसँग भट्ट र अग्रवालले मिलेर काम गरेको समाचार सार्वजनिक भएसँगै उनीहरूले कोभिड महामारीको समयमा व्यावसायिक धर्मबाट उठेर मानव सेवामा काम गर्न सहकार्य गरेको जनाएका हुन्।
कोरोना महामारीमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता गुरुङसँग चिनजान भएकाले कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न परिचालन पार्टनर मात्रै बनाएको भट्ट र अग्रवालले बताएका छन्। त्यसयता गुरुङ र उनको संस्थासँग आफूहरूले कुनै पनि सहकार्य नगरेको उनीहरूको बताए।
उनीहरूले जेनजीको आन्दोलनमा आफूहरूले संयुक्त रुपमा सञ्चालनमा ल्याएको पाँचतारे होटल हिल्टनमा समेत तोडफोट र आगजनी भएकोप्रति दुःख व्यक्त गरेका छन्। जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल हिल्टन खरानी भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्रसमेतमा गम्भीर असर परेको छ। यतिबेला हामी गहिरो शोकमा छौँ। नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनासँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।
संकटको घडीबाट आफूहरू फेरि सम्हालेर व्यवसायलाई नयाँ शिराबाट सुरु गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।