काठमाडौं । आक्रामक रूपमा निर्जीवन बिमा व्यवसाय विस्तार गरेर जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नाफा बढाउने भएको छ । आर्थिक वर्ष ०८०/०८१ मा कम्पनीले ४१ करोड २० लाख रुपैयाँ खुदनाफा गर्ने योजना सार्वजनिक गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा १७ करोड ३७ लाख, आगामी वर्ष ०७८/०७९ मा १९ करोड ८० लाख, ०७९/०८० मा ३० करोड २७ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । जनरलले गत आर्थिक वर्ष ०७६/०७७ मा ५ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
जनरल इन्स्योरेन्सले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा वृद्धि गरेर सेयरधनीलाई दिने लाभांश पनि उल्लेख्य बढाउने लक्ष्य लिएको छ ।

चालू आर्थिक वर्षमा सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने अवस्थमा कम्पनी पुग्ने अनुमान गरिएको छ । आगामी ०७८/०७९ मा ७, ०७९/०८० मा १० र ०८०/०८१ मा १५ प्रतिशत लाभांश दिन सक्ने सार्वजनिक गरिएको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।
प्रक्षेपित नाफा आर्जन र सेयरधनीलाई लाभांश वितरण गर्न कम्पनीले बिमा शुल्क संकलन बढाउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षमा बिमा शुल्क १४५ प्रतिशत बढाएर १ अर्ब २५ करोड ७३ लाख रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।
यस्तै आगामी आर्थिक वर्ष ०७८/०७९ मा १२३ प्रतिशत बढेर १ अर्ब ५६ करोड २८ लाख, ०७९/०८० मा १२० प्रतिशत बढेर १ अर्ब ९५ करोड ३६ लाख र ०८०/०८१ मा ११७ प्रतिशत बढेर ३ अर्ब ४४ करोड २० लाख रुपैयाँ बिमा शुल्क पुग्ने प्रक्षेपण कम्पनीको छ ।
चालू आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा, आगामी वर्ष १९ रुपैयाँ ८१ पैसा र आर्थिक वर्ष ०७९/०८० मा ३० रुपैयाँ २७ पैसा पुग्ने अनुमान जनरल इन्स्योरेन्सको छ । ३ वर्षमा प्रतिसेयर खुदसम्पत्ति बढेर १४८ रुपैयाँ पुग्ने कम्पनीको विश्लेषण छ ।
कम्पनीले २०७५ असार ६ गतेदेखि निर्जीवन बिमा कारोबार सञ्चालन गर्दै आइरहेको छ । निर्जीवन बिमा कारोबार सञ्चालन गरेको दुई वर्ष पूरा भएको छ । यस अवधिमा कम्पनीले आफ्नो स्थितिलाई मजबुद बनाउँदै लगेको जनाएको छ ।
आर्थिक वर्ष ०७४/०७५ सम्मको अवधिमा सञ्चालन नोक्सानीमा रहे पनि आर्थिक वर्ष ०७५/०७६ मा सुधारोन्मुख स्थितिलाई मजबुद बनाउँदै लगेको वित्तीय विवरणमा उल्लेख छ । निर्जीवन बिमा बजारमा जनरलको बजार हिस्सा २ प्रतिशत पुगेको छ ।

आइतबारदेखि आईपीओ निष्कासन हुने
जनरल इन्स्योरेन्सले आउँदो आइतबारदेखि सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूका लागि छुट्याइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुने कम्पनीले जनाएको छ ।
आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिने निष्कासन बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।
आईपीओमा विभिन्न मर्चेन्ट बैंकरहरूले प्रत्याभूति गरेका छन् । निष्कासन हुन लागेको आईपीओ बिक्री नभएमा नेपाल एसबीआई मर्चेट बैंकिङ लिमिटेड, सिद्घार्थ क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडले सकार्ने छन् । कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ । आईपीओ निष्कासन पश्चात् चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।