जमुना बर्षा शर्मा, पोखरा । नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्टस् नाट्टा गण्डकी प्रदेशले ४१ औं विश्व पर्यटन दिवस अवसरमा कोरोना विरुद्धको सचेतनासहित पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि हात धुनका लागि पानीसहितको ट्याङ्की राखेर मनाएको छ ।
कोरोनाको उच्च जोखिम बढिरहेकाले अब स्वास्थ्य सतर्कता अपनाएर पर्यटन क्षेत्र गतिशिल बनाउनु पर्ने जनाउँदै मानिसको भीड हुने स्थानमा पानी ट्याङ्की राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

कार्यक्रममा नाट्टा गण्डकीका पूर्व अध्यक्ष तथा काउन्सिलका संयोजक ओम पाण्डेले पोखरा भित्रिने र बाहिरिनेहरुका लागि सुरक्षा सतर्कताका लागि राखिएको पानी ट्याङ्की निकै उपयोगी हुने बताए ।
लामो समयको बन्दाबन्दी पछि सञ्चालनमा आएको पर्यटक वसहरुले अहिले दैनिक ४ वटा काठमाडौं, सुनौली जाने गरेको संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु काठमाडौं, बेशिसहर, सुनौली, सौराहा जाने गरेका थिए । पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा हाल ३ अर्बको लगानी छ ।
सोही अवसरमा नाट्टाले सिटी टुर गाइड एशोसिएसन पोखरालाई १५ हजार नगद दिएको छ भने जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।

