×

प्राइम बैंकले टाइगर प्यालेसलाई दिएको ऋणको दुरुपयोग, अनुसन्धान गर्दै राष्ट्र बैंक

images

काठमाडौं । रुपन्देहीको कोटीहवामा सञ्चालित टाइगर प्यालेस रिसोर्टमा बैंकहरूले गरेको लगानी दुरुपयोग गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालकहरूमाथि अनुसन्धान थालेको छ । 

प्राइम कमर्सियल बैंकको नेतृत्वमा ४ वटा बैंकले टाइगर प्यालेसमा गरेको १४ करोड रुपैयाँ ऋण लगानी  होटलभन्दा बाहिर गएर दुरुपयोग भएको भन्दै त्यहाँ कार्यरत कर्मचारीले उजुरी दिएपछि राष्ट्र बैंकले बैंकहरूमाथि अनुसन्धान थालेको हो । 

टाइगर प्यालेस निर्माण र सञ्चालनका लागि सिल्भर हेरिटेजअन्तर्गतको टाइगर वान प्रालिले लिएको १४ करोड रुपैयाँ ऋण एसएमएसके म्यानेजमेन्ट (क्यासिनो अपरेटर) मा पुगेको देखिएपछि राष्ट्र बैंकले सिल्भर हेरिटेज र टाइगर वान प्रालिलाई ऋण दिने प्राइमसहित नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र सानिमा बैंकमाथि अनुसन्धान सुरु गरेको हो ।  

टाइगर प्यालेसको कर्मचारी युनियनका सन्तोष तमुले बुधबार दिएको उजुरीको आधारमा राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको हो । तमुले दिएको उजुरी केन्द्रीय बैंकमा दर्ता चलानीको १७८२ नम्बरमा दर्ता भएको छ । राष्ट्र बैंकको गभर्नर कार्यालयका अनुसार उजुरी सुपरिवेक्षण शाखामा पुगेपछि बिहीबारबाट अनुसन्धान सुरु भएको हो । 

सुपरिवेक्षण शाखाका एक अधिकृतले टाइगर प्यालेसमाथिको ऋणको विषयमा अनुसन्धान सुरु भइसकेको जानकारी दिए । राष्ट्र बैंकमा उजुरी आएकाले त्यसको अनुसन्धान भइरहेको वाणिज्य बैंक सुपरिवेक्षण विभागका मुकुन्द क्षेत्रीले जानकारी दिए । 

विभागका एक अधिकृतका अनुसार लेखापरीक्षणसहित अन्य प्रमाण पनि भएकाले प्राइमसहित अन्य तीन बैंकसँग यस विषयमा सोधपुछ हुनेछ । 
टाइगर वान प्रालिको ब्यालेन्ससिटमा क्यासिनो अपरेटर कम्पनी एसएमएसकेमार्फत १३ करोड ९५ लाख ८५ हजार ६ सय १४ रुपैयाँ लिनुपर्ने देखाइएको छ । जुन रकम टाइगर वान प्रालिलाई बैंकले ऋण लगानी गरेर दिएको थियो । 

एउटै सञ्चालक भएको दुई कम्पनी रहेकाले बैंकले अध्ययन नै नगरी एउटा शीर्षकको कर्जा अर्काेमा दिएको हुन सक्ने भन्दै राष्ट्र बैंकले अनुसन्धान गरेको हो । 

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धरले टाइगर प्यालेसमा गरेको लगानीको विषयमा अहिलेसम्म राष्ट्र बैंकबाट आफूहरूलाई कुनै सर्कुलर नआएको बताए । 

 

शुक्रबार​ २१ फागुन २०७७ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया