बुधबार, असार २ २०७८ ०७:४८ PM

×

देशकै ठूलो माथिल्लो तामाकोसीबाट जेठको दोस्रो साताभित्र बिजुली उत्पादन हुने, परीक्षण जारी 

images

काठमाडौं । हालसम्म निर्माण भएको देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट जेठको दोस्रो सातादेखि बिजुली उत्पादन सुरु हुने भएको छ । आयोजनाको हाल विद्युत उत्पादनका लागि परीक्षण र मर्मतका कामहरू भइरहेका छन् ।

बाँध, सुरुङलगायतका संरचनाहरूको परीक्षण जारी रहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए । विद्युतगृह, टर्वाइनलगायत परीक्षण पूरा भएपछि औपचारिक रूपमा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने उनले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा जेठ १० देखि १२ गतेसम्ममा पहिलो युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रवत्ता न्यौपानेले सुनाए । यसअघि वैशाखभित्रै पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएकोमा परीक्षणको काम बाँकी रहेकाले केही दिन ढिलाइ हुन गएको छ । 

‘आयोजना निर्माणको सबै काम सकिएका छन् । परीक्षण गर्दा देखिएका केही समस्याको मर्मत कार्य जारी छन्,’ उनले भने, ‘जेठ १२ गतेसम्म बिजुली उत्पादन हुने देखिएको छ ।’

आयोजनामा वैशाख ८ गते बुधबारदेखि पानी भर्न सुरु गरिएको हो  । बाँधमा पानी भरेर सुरुङमा पानी पठाउने काम भइरहेको छ । बाँकी ५ वटा युनिटबाट आउँदो भदौसम्म सञ्चालनमा ल्याउने तयारी आयोजनाको छ ।

यो पनि हेर्नुहोस 
माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन योजनाः बाँधमा पानी भर्न सुरु 

मुख्य निर्माणअन्तर्गत बाँध र इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचना काम  सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । 

आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत उत्पादन हुनेछ । आयोजनाको हेड ८४० मिटर अग्लो छ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

४५६ मेगावाटको आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । सुक्खायाममा बिजुली उत्पादन घटेर ९० मेगावाटसम्म झर्ने छ । सुक्खाको बिजुली माग पूरा गर्न कम्पनीले रोल्वालिङ डाइभर्सन परियोजनाको काम पनि अघि बढाउने तयारी गरिएको छ ।

यसबाट थप १७ करोड युनिट बिजुुली थप हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याज बाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ पुग्ने संभावना छ । आयोजनाको सुरुवाती लागत निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ तय गरिएको थियो । 

सम्पन्न हुन लागेको माथिल्लो तामाकोसी दोस्रो राष्ट्रिय गौरवको आयोजना हो । गत चैतमा मेलम्ची खानेपानी आयोजना सम्पन्न भई दैनिक १७ करोड लिटर पानी आपूर्ति थपिएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखाले मेलम्ची खानेपानी सञ्चालनमा आएपछि आर्थिक गतिविधि विस्तार भई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान पुर्याएको उल्लेख गरेको छ । मेलम्ची र माथिल्लो तामाकोसी सञ्चालमा आएकाले आगामी आर्थिक वर्षको जीडीपी विस्तारमा योगदान पुग्ने बताइएको छ । 

माथिल्लो तामाकोसी सचालनमा आएपछि भारतबाट हुने बिजुली आयात कम हुने छ । अहिले भारतबाट साढे ७०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । सरकारले तामाकोसीलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

 

मङ्गलबार २८ बैशाख २०७८ ०७:१४ PM मा प्रकाशित

प्रतिक्रिया