अहिले देशभर मनसुनी प्रणाली सक्रिय भएको छ। मनसुन सुरु भएसँगै बाढीपहिरोलगायत विपदका घटना भइरहेका छन्। हरेक वर्ष बाढीपहिरोमा परी सयौं मानिसले ज्यान गुमाएका खबर सञ्चार माध्यमबाट सुनिने गरेको छ। यस वर्ष गत वर्षको तुलनामा अधिक वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गत असोज (११ र १२)को अविरल वर्षा र त्यसपछिको बाढीले उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा धेरै क्षति पुर्याएको घटना सेलाउन नपाउँदै फेरि मनसुनजन्य विपद् सुरु हुन थालेको छ। पानी पर्नासाथ रातमा निदाउन सक्दैनन्, ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय। नल्लु खोलामा गत असोजमा आएको बाढीले ढुंगे गाउँलाई बगर बनाएको थियो भने गैरीगाउँ र टुसाल गाउँका केही घर नल्लुसँगै बगेका थिए।
सरकारी सहयोग नपाए पनि केही गैरसरकारी संघले जस्तापाता र राहतस्वरुप दाल, चामल वितरण गरेका सर्गभए पनि वडा र नगरपालिकाले केही नगरेको स्थानीयको गुनासो छ। नीता नगरकोटी जस्तापाताले बनाएको अस्थायी घरको आँगनबाट ढुंगेतिर हेर्दै असोज बाढी र त्यसले मच्याएको वितन्डा सम्झिन्छिन्। ‘दुईतले घर, पसल थियो सबै बगायो, केही निकाल्न पाइएन। गरिखाने पसल पनि नरहेपछि अहिले क्रसरमा ढुंगा संकलन गर्ने काम गर्छु’, उनले भनिन्।
सो क्षेत्रमा दशकौंदेखि सञ्चालन गरिएको अवैध उत्खनन र क्रसर उद्योग, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जान अध्ययनबिनै जथाभावी खनिएका सडकले नल्लु खोलामा बाढी निम्त्याएको स्थानीय बताउँछन्। नल्लु खोलाको धार नै परिवर्तन हुने गरी आएको बाढीले ठूली नगरकोटीको घर पनि बगायो। घरबारविहीन भएपछि सिखर्पा गाउँ भाडामा जमिन लिएर अस्थायी घर बनाएकी ठूलीलाई अहिले भाडा तिर्न पनि मुस्किल भइरहेको छ।
नीता नगरकोटी र ठूली नगरकोटी केही प्रतिनिधि पात्र मात्र हुन्। सो बाढीले धेरैको घर बगाउँदा उठिबासै लगाएको छ।खोलालाई पुरानै धारबाट फर्काउन तारजाली लगाउन माग राखे पनि वडाले सहयोग नगरेको स्थानीयले सुनाए। खोलाको मापदण्ड निर्धारण गर्नुपर्ने र जथाभावी तारजाली लगाउन नमिले वडाको जवाफपछि स्थानीय अझ चिन्तित छन्।


-1751088485.jpg)

-1751088480.jpg)










तस्बिर : नेपाल फोटो लाइब्रेरी