भक्तपुर। धान दिवस र दही चिउरा खाने दिनको लागि भकत्पुरको जुजुधौको माग बढेको छ। अहिले भक्तपुरका जुजु धौ व्यवसायीलाई धौ बनाउन व्यस्त देखिएका छन्। दुध उमाल्न र जुजु धौ बनाउन मै उनीहरुको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ।
भक्तपुरको एसएस जुजु धौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा कार्यरत अन्य ५ जना जुजु धौ बनाउन मै व्यस्त छन्।
“मानिसहरुमा जुजु धौको स्वादले पारेको प्रभावका कारण नै डिमाण्ड बढेको छ। अहिले हामीले दिनको २० देखि २५ क्यान दुधबाट जुजु धौ बनाउँछौं। अरु बेला १५ क्यान दुध प्रयोग हुने गर्थ्यो। एक क्यानमा ४० लिटर दुध हुन्छ । त्यसलाई हामी परिक्षण गरेर फ्याट कति छ भन्ने यकिन गरेर ८५ डिग्रीमा उमालेर अनि फेरी डेक्चीमा एक घण्टा पकाएपछि मात्रै सेलाउन हाल्छौं,” सुवालले भनिन्।
मल्लकालीन समयदेखि नै “दहीको राजा” उपमा पाएको भक्तपुरको मौलिक उत्पादन जुजुधौको स्वाद र गुणस्तरका कारण यो सधैं मानिसहरुको रोजाइमा पर्ने गरेको छ। यसको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो। माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो। यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्छ। जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ।
“दुध उमाल्ने बेलामा हामी कति दुध उमाल्ने हो त्यही अनुसार नै नापेर चिनी हाल्छौं। त्यसमा सुकुमेल पनि मिसाइन्छ,” सुवालले भनिन्।
दूध उमाल्न पुगेपछि माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्ने गरिन्छ। उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ। यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ।
नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन्।








