काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा डोजर चलाएपछि अहिले हजारौँ मानिस घर विहीन भएका छन्। कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिस सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका हुन्।
उपत्यकाका विभिन्न बस्तीबाट बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा पनि वैशाख २४ गते ११० जना पुर्याइएका थियो। यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरूको सरकारसँग गुनासैगुनासो र माग रहेको छ। खाना बस्नमा कुनै कमी कमजोरी नदेखेका उनीहरूले बच्चाबच्चीको पढाई, रोजगारी स्थायी बसोबासको माग गर्दै आएका छन्।
शान्तिनगर बस्तीबाट होल्डिङ सेन्टरमा पुर्याइएका दिल बहादुर सुब्बा र कृष्ण कुमारी सुब्बिनीको माग पनि छिटोभन्दा छिटो उचित बसोबास व्यवस्था हुनु पर्यो भन्ने रहेको छ। सरकारले समय नै नदिई घरमा डोजर चलाएको, घरबाट सामान पनि निकाल्ने समय नदिएको उनीहरूको गुनासो छ।

दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउने लाल बहादुर लिम्बु पनि सरकारले छिटोभन्दा छिटो छानबिन गरी गरिब र भूमिहीनको उचित व्यवस्था हुनु पर्ने माग राख्दछन्। १० वर्षीय छोरी मानसिक र शारीरिक रूपमा कमजोर रहेको कारण पनि छोरीको उपचारमा सरकारले सहयोग गर्ने उनको विश्वास समेत रहेको छ। ६६ वर्षीय तोयनाथ मिश्रको पिसाब सम्बन्धी समस्या छ। बालाजु बस्तीमा बस्दै आएका उनी अहिले बनेपा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। पिसाबको थैली हातमै बोकी हिँड्ने उनले सरकारले ढिलै भएपनि उचित व्यवस्था गर्ने आश राखेका छन्। त्यहाँ रहेका साना केटाकेटीहरूको पनि माग समयमै विद्यालय जान उचित व्यवस्था गर्नु पर्ने नै रहेको छ।

नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्राद्ध श्रेष्ठका अनुसार वैशाखको २४ गतेदेखि यहाँ १५४ जनाको लागि चाहिँ आवास तथा खानाको व्यवस्थापनको सहरी विकास मन्त्रालयबाट पत्राचार भएको र ११० जना चाहिँ २४ गते बेलुका तीनवटा गाडीमा ल्याइएको उनले जानकारी दिइन्।जसमा विभिन्न उमेर समूह, र विभिन्न अवस्थाको मानिसहरू, नौ दिनको सुत्केरी, त्यस्तै १८ वर्ष मुनिका बालबालिका जम्मा २६ जना जसमा १६ जना बालिका, १० जना बालक। ज्येष्ठ नागरिक लगभग १६ जना रहेका छन्।



