काठमाडौं । ५० प्रतिशत धरौटीको डण्डा देखाएर करदातालाई तर्साउने र आफ्नो स्वार्थ पूरा गर्ने परिपाटी बढ्दै गएपछि आन्तरिक राजस्व विभागले कर अधिकृतमाथि सूक्ष्म निगरानी बढाएको छ ।
करदातासँग बार्गेनिङ मिले आफ्नो गोजी भर्न नमिले अदालत पठाउने प्रवृत्ति मौलाउँदै गएको समाचार बाहिरिए पछि कर अधिकृतमाथि सूक्ष्म निगरानी गरिरहेको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए ।
‘केही समयअघि पनि कर अधिकृतहरूले करदातासँग बार्गेनिङ गरेर लेनदेन गरेको पाइएपछि त्यस्ता कर अधिकृतलाई कारबाही गरिएको थियो,’ कुँवरले भने, ‘केही दिनयता यस्ताखाले समाचार बाहिरिएपछि पुनः कर अधिृकतलाई निगरानीमा राखेका छौं ।’
काठमाडौंसहित देशभरका कर अधिृकतसमाथि विभागले आफ्नै तरिकाले निगरानी बढाएको उनको भनाइ छ । कर अधिकृतले ५० प्रतिशत धरौटीको त्रास देखाउने, हरेक वर्ष एउटै फाइल मात्रै अडिट गर्ने, उनीहरूले मागेअनुसार नदिए विभिन्न डिफल्ट देखाउने र तर्साउने खेल चलिरहेको करदाताहरू बताउँछन् ।
विभागका अनुसार केही कर अधिकृतमाथि हामीलाई शंका छ । तर, उनीहरूलाई कारबाही गर्ने आधार छैन । आधार जम्मा गर्न लागिरहेका छौं । प्रमाण भेटिने बित्तिकै उनीहरूलाई कारबाही हुन्छ । कर अधिकृत अस्वभाविक ‘बेनिफिट’ लिएको गुनासो विभागमा पनि आउने गरेको छ ।
कतिपय अवस्थामा आफ्नो गल्ती ढाकछोप गर्न पनि करदाताहरू नै कर अधिकृतसँग मिल्दा समस्या परेको विभागको बुझाइ छ । ‘आफ्नो गल्ती छोप्न कर अधिकृतसँग मिल्ने र आफ्नो स्वार्थ पूरा गर्ने प्रचलन पनि बढी नै छ,’ कुँवरले भने, ‘कर अधिकृत र करदाता मिल्दासम्म केही कुरा बाहिर आउँदैन । त्यस्तो बेला न राज्यकोषमा कर दाखिला हुन्छ । न दोषीले कारबाही भोग्नुपर्छ ।’
करदाताका अनुसार जुन करदाताबाट सजिलै पैसा झर्छ, त्यहीमाथि कर अधिकृतको दृष्टि पर्ने गरेको बताउँछन् । ‘पोलिटिकल नेक्सस’ भएका व्यापारीसँग कर अधिकृत डराउने र उनीहरूको फाइल कहिल्यै पनि अडिट नहुने गरेको पाइएको छ ।
विभागका अनुसार कुन ठाउँको कर अधिकृतले ज्यादति गरेको हो, त्यसो सूचना विभाग दिन करदातालाई आग्रह गरिएको छ । ‘करदाताको कम्पनीको नाम र स्वयम्को नाम गोप्य राखिन्छ,’ कुँवरले भने, ‘तर, त्यस्ता कर अधिकृतको नाम गोप्य रूपमा विभाग दिन आग्रह गर्छु ।’
यसअघि पनि कर अधिकृतले करदाताबाट नाजायज फाइदा लिएको पाइएपछि त्यस्ता कर्मचारीलाई विभागीय कारबाही गरिएको छ । अहिले पनि कुनै कर अधिकृतले नाजायज फाइदा लिएर करदातालाई दुुःख दिएको छ भने त्यस्ता अधिकृतलाई कानुनअनुसार कारबाही गरिने कुँवरले प्रतिबद्धता जनाए ।
याे पनि पढ्नुस्
१) कर लेखापरीक्षणको विकृतिः निरन्तर कमाइ कायम राख्न कर अधिकृतका करदाताको तीनखाले सूची
२) कर प्रशासनमा विकृति बढेपछि सूक्ष्म अध्ययन गरिँदै, संसदीय समितिले बनायो उपसमिति
३) फाइल अडिटमा पर्ने बित्तिकै कारोबार रकमको प्रतिशतका आधारमा कर अधिकृतलाई ‘घूस’
४) कर अधिकृतलाई ‘रिझाउनु’ पर्ने बाध्यता कहिलेसम्म ?
५) ५० प्रतिशत धरौटीको फन्डामा कर अधिकृतको कमाउ धन्दा