काठमाडौं । विशाल ग्रुपसँग स्टकमा रहेको मदिरा सकिएपछि सरकारले विदेशबाट मदिरा ल्याउन खुला गरेको छ । विशाल ग्रुपले चैतअघि नै ६ महिनालाई पुग्ने मदिरा आयात गरिसकेको र उसैको प्रलोभनमा परेर तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आयातमा रोक लगाएका थिए ।
विदेशी मुद्रामा गम्भीर चाप पर्ने बाहना देखाएर आयात बन्द गरिएको भए पनि विशाल ग्रुपलाई पोस्नलाई मदिरा आयात रोकिएको थियो । तर, अहिले मन्त्रिपरिषद् बैंठकले निर्णय गरेर मदिरा आयात गर्न खुला गरेको हो ।
यो पनि पढ्नुस
मदिराको आयात खुला गर्ने सरकारको निर्णय
विशाल ग्रुपका प्रवन्ध निर्देशक अशोक अग्रवालले ६ महिनालाई मदिरा पुग्ने तथ्यांक प्रस्तुत गरेर मदिरा आयात बन्द गराएका थिए । अब विशाल ग्रुपसँग स्टक मदिरा सकिएकाले खुला गरिएको व्यवसायीहरुले बताएका छन् ।
विशाल ग्रुपले चैतअघि नै पर्याप्त मात्रामा मदिरा देशभित्र भित्र्याइसकेको थियो । तर, अन्य आयातकर्ताले त्यति ठूलो परिमाणमा मदिरा भित्र्याएका थिएनन् । त्यही जानकारीका आधारमा विशाल ग्रुपले अर्थमन्त्री खतिवडालाई आफ्नो पक्षमा निर्णय गराएर बजारमा एकाधिकार जमाएको थियो ।
विशाल ग्रुप बाहेक कुनै पनि आयातकर्तासँग यति लामो समयसम्म पुग्ने मदिरा थिएन । चैत १६ गतेदेखि मदिरा आयात पूर्ण रुपमा बन्द गराएपछि अन्य आयातकर्ताले जेठसम्म सबै मदिरा बिक्री गरिसकेका थिए ।
यो पनि पढ्नुस
अर्थमन्त्रीको संरक्षणपछि विशाल ग्रुपले भाटभटेनीलाई साउनमा मात्रै बेच्यो ६ करोडको मदिरा
तर, विशाल ग्रुपसँग असोजसम्म पुग्ने मदिरा स्टकमा छ । दसैंलगायतका चाडबाडलाई मदिरा नहुने भए पनि विशाल ग्रुपले मदिरा आयात खुलाएको हो ।
‘हिजो मदिरा आयात किन बन्द गरियो र आज किन खुलाइयो भन्ने कसैसँग पनि जवाफ छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपालसंग भने, ‘चैत १६ गतेदेखि बन्द गर्नु र अहिले खुलाउनुको पछाडि कुनै कारण केही छैन ।’
यो पनि पढ्नुस
अर्थमन्त्री–विशाल ग्रुप सम्बन्धः स्टक सिध्याउन विदेशी मदिरा आयातमा प्रतिबन्ध
‘हामीले हिजो नै बन्द नगरौ भनेको हो, तर तत्कालीन अर्थमन्त्री खतिवडा मान्नु भएन्,’ ती अधिकारीले भने, ‘अहिले फेरी खुलाइएको छ ।’
खतिवडाले नै विशाल ग्रुपलाई एकाधिकार गर्न खुला गरिदिएको अन्य आयातकर्ताहरु बताउँछन् ।
तत्कालीन अर्थमन्त्री खतिवडाले विदेशी मुद्रा बाहिर जाने र त्यसलाई रोक्नुपर्ने बहाना देखाएर मदिरा आयातमा रोक लगाएको बताएका थिए ।
स्रोतका अनुसार विशाल ग्रुपसँग यो बीचमा ३० करोड रुपैयाँ बराबरको मदिरा थियो । उक्त मदिरा बिक्री भइसकेपछि अहिले खुलाइएको हो ।
जबकी, भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८० करोड रुपैयाँको मदिरा आयात भएको थियो । त्यसमध्ये ६० करोड रुपैयाँ बराबरको मदिरा विशाल ग्रुप एक्लैले नेपाल भित्र्याएको आयातकर्ताहरु बताउँछन् ।
‘विशालसँग कति स्टक छ ? त्यो स्टकले कति समयसम्म पुग्छ भन्ने आँकलनसहित खतिवडाको पहलमा मदिरा आयातमा पूर्ण प्रतिवन्ध लगाइएको थियो,’ एक आयातकर्ताले भने, ‘अहिले विशालसँग भएको स्टक सकिँदै गएको छ । त्यही भएर खुलाइएको हुन सक्छ ।’
आयातकर्ताका अनुसार मदिरा आयातको वार्षिक तथ्यांक हेर्दा नगन्य मात्रै छ । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा जम्मा १ अर्ब ३० रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । गत आवमा जम्मा ८० करोड रुपैयाँबराबरको मदिरा आयात भएको विभागले जानकारी दिएको छ ।
नेपालको व्यापार घाटा अघिल्लो वर्ष १४ खर्ब रुपैयाँभन्दा बढी थियो । गत आवमा पनि १२ खर्ब रुपैयाँ हाराहारी व्यापार घाटा छ । त्यसमा मदिराको हिस्सा नगन्य मात्रामा भएको व्यापारीहरु बताउँछन् ।
व्यापार घाटा कम गर्नभन्दा पनि एउटा मात्रै व्यापारीलाई पोस्न सरकारले मदिरा आयातमा कडाई गरेको उनीहरुको आरोप थियो । उनीहरुका अनुसार संसारमै नेपाल मात्रै यस्तो एउटा मुलुक हो, जसले मदिरा आयातमा प्रतिवन्ध लगाएको छ ।
‘बार्षिक खर्बाैै रुपैयाँको मदिरा आयात हुने भए त त्यसले व्यापार घाटा बढाउन ठूलै सहयोग गर्याे भन्नू,’ ती आयातकर्ताले भने, ‘जम्मा डेढ अर्ब रुपैयाँको मदिरा आयात हुँदा कति प्रतिशत व्यापार घाटा हुन्छ ?’
अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । त्यसमा सरकारले २५० प्रतिशत राजस्व नै पाउने गरेको थियो । एक रुपैयाँको आयात हुँदा २ रुपैयाँ ५० पैसा सरकारले राजस्व पाउँछ ।
नेपालमा विदेशबाट नियमित रुपमा मदिरा आयात गर्ने ८÷९ जना छन् । मदिरा आयातमा सबैभन्दा ठूलो हिस्सा विशाल ग्रुप, सारडा ग्रुप, सहारा ट्रेडर्स, अलाइन्स पर्छन् । त्यस बाहेक केही साना आयातकर्ताहरु पनि छन् ।