काठमाडौं । विशाल ग्रुपको स्टक बिक्री गराउन अर्थमन्त्री डा. युवराज खतिवडाले मदिरा आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको खुलेको छ ।
विशाल ग्रुपले चैत १६ अघि नै ठूलो परिमाणमा विदेशबाट मदिरा भित्र्याइसकेकाले सोही बेचाउन अर्थमन्त्री खतिवडाले आयात बन्द गराएको रहस्य खुलेको हो । खतिवडाले विदेशी मुद्रा बाहिर जाने र त्यसलाई रोक्नुपर्ने बहाना देखाएर मदिरा आयातमा रोक लगाए पनि वास्तविकता अर्कै रहे छ ।
स्रोतका अनुसार विशाल ग्रुपसँग अझै ३० करोड रुपैयाँ बराबरको मदिरा स्टक छ । जबकी, भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८० करोड रुपैयाँको मदिरा आयात भएको थियो । त्यसमध्ये ६० करोड रुपैयाँ बराबरको मदिरा विशाल ग्रुप एक्लैले नेपाल भित्र्याएको आयातकर्ताहरु बताउँछन् ।
अन्य आयातकर्तासँग स्टक नभएको ४ महिना भइसक्यो । अmभै पनि विशाल ग्रुपसँग ठूलो परिमाणमा मदिराको स्टक छ । चाडबाडहरु पनि भित्रिँदै गरेको र आफ्नै स्टक मात्रै बेच्ने रणनीतिका साथ विशालको लविङपछि अर्थमन्त्री खतिवडाले मदिराको आयातमा प्रतिबन्ध लगाएको व्यवसायीको भनाइ छ ।ग्रुपले ब्लाक लेवल, रेडलेवललगायत महंगा मदिरा विदेशबाट आयात गर्दै आएको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले चैत १६ गते विदेशी मुद्राको चाप पर्ने भएकाले केराउ, मरिच, छोकडा, ५० लाख डलरभन्दा माथि मूल्यका गाडी, मदिरालगायतका वस्तुको आयातमा पूर्ण रुपमा रोक लगाएको थियो ।
‘विशालसँग कति स्टक छ ? त्यो स्टकले कति समयसम्म पुग्छ भन्ने आँकलनसहित खतिवडाको पहलमा मदिरा आयातमा पूर्ण प्रतिवन्ध लगाइएको हो,’ एक आयातकर्ताले क्यापिटल नेपालसंग भने, ‘अहिले विशालसँग ३० करोड रुपैयाँ भन्दा बढीको विदेशी महंगा ब्राण्डका मदिरा स्टक छन । भित्रिँदै गरेका चाडपर्वहरुमा आफ्नो मात्रै मदिरा बेचौँ भन्ने उद्देश्यमा विशाल ग्रुप लागेको छ ।’
आयातकर्ताका अनुसार मदिरा आयातको बार्षिक तथ्यांक हेर्दा नगन्य मात्रै छ । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा जम्मा १ अर्ब ३० रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । गत आवमा जम्मा ८० करोड रुपैयाँबराबरको मदिरा आयात भएको विभागले जानकारी दिएको छ ।
नेपालको व्यापार घाटा अघिल्लो वर्ष १४ खर्ब रुपैयाँ भन्दा बढी थियो । गत आवमा पनि १२ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा छ । त्यसमा मदिराको हिस्सा नगन्य मात्रामा भएको व्यापारीहरु बताउँछन् ।
व्यापार घाटा कम गर्न भन्दा पनि एउटा मात्रै व्यापारीलाई पोस्न सरकारले मदिरा आयातमा कडाई गरेको उनीहरुको आरोप छ । उनीहरुका अनुसार संसारमै नेपाल मात्रै यस्तो एउटा मुलुक हो, जसले मदिरा आयातमा प्रतिवन्ध लगाएको छ ।
‘बार्षिक खर्बौै रुपैयाँको मदिरा आयात हुने भए त त्यसले व्यापार घाटा बढाउन ठूलै सहयोग गर्यो भन्नू,’ ती आयातकर्ताले भने, ‘जम्मा डेढ अर्ब रुपैयाँको मदिरा आयात हुँदा कति प्रतिशत व्यापार घाटा हुन्छ होला, आफै हिसाव गर्नुस् ।’
अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । त्यसमा सरकारले २५० प्रतिशत राजस्व नै पाउने गरेको थियो । एक रुपैयाँको आयात हुँदा २ रुपैयाँ ५० पैसा सरकारले राजस्व पाउँछ ।
नेपालमा विदेशबाट नियमित रुपमा मदिरा आयात गर्ने ८/९ जना छन् । मदिरा आयातमा सबैभन्दा ठूलो हिस्सा विशाल ग्रुप, सारडा ग्रुप, सहारा ट्रेडर्स, अलाइन्स पर्छन । त्यस बाहेक केही साना आयातकर्ताहरु पनि छन् । तर, अहिले विदेशी मदिराको व्यापारमा विशाल ग्रुपको मात्रै रजगज छ ।