काठमाडौं । ठूलो परिमाणमा स्टक राखेपछि अर्थमन्त्री खतिवडाको सहयोगमा मदिरा आयातमा प्रतिबन्ध लगाउन सफल विशाल ग्रुपले अहिले बजारमा आफ्नो एकाधिकार जमाएको छ ।
अन्य कुनै आयातकर्तासँग मदिरा स्टक नभएको तर विशाल ग्रुपसँग ३० करोड रुपैयाँ भन्दा बढीको मदिरा स्टक भएकाले बजारमा एकाधिकार जमाएको हो । स्रोतका अनुसार साउन महिनामा मात्रै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीलाई ६ करोड रुपैयाँको विदेशी मदिरा बिक्री गरेको छ ।
ग्रुपले अरु आयातकर्तासँग कति परिमाणमा मदिरा छ, त्यसले कति समय धान्छ र आफूसँग भएको मदिराले बजारमा कति समयसम्म थेग्छ भन्ने हिसावकिताव गरेर अर्थमन्त्री खतिवडालाई मदिरा आयात प्रतिबन्ध गर्न लगाएको हो ।
सरकारले चैत १६ गते मदिरा आयातमा प्रतिबन्ध लगाएको एक महिनापछि अन्य आयातकर्तासँग भएको मदिरा सकिएको थियो । त्यसपछि अहिलेसम्म विदेशी मदिराको व्यापारमा विशाल ग्रुपले रजगज गरेको आयातकर्ताहरु बताउँछन् ।
विशाल ग्रुपप्रति लचिलो रुपमा प्रस्तुत हुने अर्थमन्त्रीले मदिरामा पनि उसले भनेजसरी आयातमा प्रतिबन्ध लगाइदिएपछि उसको बजारमा एकाधिकार कायम भएको हो ।
विदेशी मदिरा आयातमा सबैभन्दा ठूलो हिस्सा विशालकै छ । त्यसपछि सारडा ग्रुपको रहेको व्यापारीहरु बताउँछन् । देशमा साना ठूला गरेर ९ ओटा आयातकर्ता छन् । अहिले विशाल ग्रुपले बेच्ने मदिरा बाहेक अन्य कुनै ब्रान्डको मदिरा पाइँदैन ।
स्रोतका अनुसार विशालसँग दशैं, तिहार तथा छठसम्मलाई पुग्ने मदिरा छ । ग्रुपको प्रमुख उद्देश्य भनेको नजिकिँदै गरेको चाडबाडमा आफ्नै मदिरा मात्रै बेच्ने र बजारमा एकाधिकार जमाउने हो । ग्रुपको उक्त योजनालाई अर्थमन्त्री खतिवडाले साथ दिएका हुन् ।
अर्थमन्त्री खतिवडाले चकलेट आयातमा भन्सार कटौती गरेर विशाललाई सहयोग गरेकाछ । अर्थमन्त्री खतिवडाले विदेशी मुद्रा बाहिर गएको र त्यसलाई रोक्न मदिरा आयात प्रतिबन्ध लगाएको बताएका छन् । सरकारी तथ्यांक हेर्दा बार्षिक रुपमा डेढ अर्ब रुपैयाँ हाराहारीको मात्रै विदेशी मदिरा आयात हुन्छ ।
‘यसले नेपालको व्यापार घाटामा कति प्रतिशत हिस्सा ओगट्छ,’ एक आयातकर्ताले भने, ‘हुन त हामी सानो परिमाणमा आयात गर्छौ । त्यही पनि अर्थमन्त्री खतिवडाले रोकिदिए ।’ ‘एउटा व्यापारी एकाधिकार जमाउने गरी राज्यले निर्णय गर्छ भने कसको के लाग्छ ?’ ती आयातकर्ताले भने, ‘राज्यले प्रतिस्पर्धात्मक बजारलाई स्थापित गराउनुपर्नेमा एकाधिकार बजारलाई प्रश्रय दिएर आफू निकट व्यापारीलाई कमाउने बाटो बनाइदिएका छन् ।’
अर्थमन्त्री खतिवडाले मदिरा आयातको सम्पूर्ण तथ्यांक हेरेर आयात प्रतिबन्ध लगाएको उनीहरुको आरोप छ । ‘कुन आयातकर्ताले कति मदिरा ल्याएको छ, कति बिक्री भएको छ, अब कति बाँकी छ र अहिले प्रतिबन्ध लगाउँदा कसलाई फाइदा पुग्छ भन्ने हिसाब गरेर प्रतिबन्ध लगाइएको हो,’ अर्का एक विदेशी मदिरा आयातकर्ताले भने, ‘हामीसँग मदिरा स्टक छैन भन्ने अर्थमन्त्रीलाई राम्रोसँग थाहा थियो ।’
यो पनि पढ्नुहोस
भन्सारदर कटौतीसँगै विशाल ग्रुपले ल्याउने चकलेट ६६० प्रतिशत बढ्यो, नीतिगत चलखेल पुष्टि
विशाल ग्रुपको रेटिङ कम्पनीलाई पोस्न अर्थले रोक्यो रेटिङको शुल्क घटाउने कानुन्
अर्थमन्त्री–विशाल ग्रुप सम्बन्धः स्टक सिध्याउन विदेशी मदिरा आयातमा प्रतिबन्ध