काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको खुदनाफा १९६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा १० करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड रुपैयाँ बढेको बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।पहिलो त्रैमाशमा बिजुली बिक्रीबाट हुने आम्दानी १२१ प्रतिशत बढेपछि खुदनाफामा सकरात्मक प्रभाव परेको हो ।
असोजसम्म ३ महिनाको अवधिमा कम्पनीले १४ करोड १२ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।
कम्पनीले ८.५ मेगावाटको नौगढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक उत्पादन शुरु गरिसकेको छ। त्यसैगरी, कम्पनीले दार्चुलास्थित ८ मेगावाटको अपर नौगढ गढ आयोजना पनि सम्पन्न भएको छ । दुबै आयोजनाको जडित क्षमता १६.५ मेगावाट छ ।
त्यसैगरी, कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माण गर्दै छ । यस्तै ८ मेगावाटको परवानीपुर सोलार, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार, १ मेगावाटको सिमरा सोलार र १ मेगावाटकै ढल्केबर सोलार आयोजना निर्माण सुरु गर्न लागेको छ।
अपीको प्रतिसेयर आम्दानी बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ। कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार रुपैयाँ सञ्चित छ।