काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंक र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।
आयकर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ ।
ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति हट्नु पर्नेमा जोड दिए ।
‘म निवर्तमान अध्यक्षका नाताले महासंघभित्र दोस्रो वरियतामा थिएँ’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किए, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरे जसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले भने ।
नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष मुरारकाले साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै उनले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको उनको जिकिर छ ।
महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान हुने उनको भनाई थियो ।