काठमाडौ । सरकारले आगामी ३ वर्षभित्र सबै नागरिकमाझ विद्युत सेवा पुर्याउने भएको छ । सबै नागरिकमा बिजुली पुर्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुयोजना बनाउने भएको छ ।
सबै जनतालाई विद्युत्तीकरणमा जोड्न ५० अर्ब रुपैयाँ लगानी गरिने ऊर्जामन्त्री वर्षमान पुनले बताए । सामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघको १० औं राष्ट्रिय परिषद बैठक तथा १५ औ बार्षिकोत्सवका अवसरमा उनले यस्तो जानकारी गराउका हुन । उनले बहुबर्षीय ठेक्का लगाएर भएपनि ३ बर्षमा सबै जनतालाइ आधारभूत विद्युतको पहुँच विस्तार गरिने जानकारी दिए ।
सामाजिक काममा सामुदायिक सहभागीता आवश्यक पर्ने भन्दै पुनले सामुदायिक विद्यूत उपभोक्ता महासंघले ग्रामीण र दुरदराजका जनतामाझ विद्युत विस्तार गरी महत्वपूर्ण भूमिका खेलेको बताए ।
सामुदायिक विधुतीकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गरेको उनले बताए । उनले चालु आर्थिक बर्षमा साँढे ४ लाख काठका पोल फेरिने बताए । तीन बर्षभित्र सम्पूर्ण देशलाइ विद्युतिकरण गर्ने योजना उनले सुनाए । कर्णाली र सुदुर पश्चिमलाई विद्युतिय गर्न राष्ट्रिय अभियानका रुपमा अघि बढाउने उनले जानकारी दिए ।
काँग्रेस नेता बालकृष्ण खाँणले पछिल्लो समय महासंघले ग्रामीण जनतामाझ विद्युत सेवा पुर्याउनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी योजना पूरा गर्न स्वदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले विद्युत् उपयोगमा विविधिकरण गर्नुपर्ने जरुरी रहेको औल्याए ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह,राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद पौडेल, नेकपाका नेता लिलामणी पोखरेल,सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भारती श्रेष्ठ, उपभोक्ता अधिकारकमी ज्योती बाँनिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष नारायण ज्ञवालीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघले विभिन्न ग्रामीण क्षेत्रका करिव ४ लाख ग्राहकमा विद्युत पुर्याइसकेको उनले जानकारी दिए ।