काठमाडौं । नेपाल र चीनको सयुंक्त लगानीमा निर्माण भइरहेको ह्वासिन सिमेन्ट उद्योग पाँच महिनादेखि बन्द छ । नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेपछि साउनमा त्यहाँ कार्यरत कामदारहरु चीन फर्किएका थिए ।
सरकारले गरेको लकडाउन र संक्रमितको संख्या बढेसँगै आफ्नो देशमा फर्किएका ती कामदारहरु अझै फर्किएका छैनन् । खास गरी चीनमा अहिले कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भइसकेको कारण पनि उनिहरु नआएको बताइन्छ ।
पहिलो चरणमा खोप लगाएका केही कामदारहरु भने फर्किसकेका छन् । यस बीचमा चीनले लगाएको खोपमा केहि समस्या आएपछि रोकिएको कारण ती कामदारहरु पनि लगाएर मात्र आउने भएकोले तत्कालका लागि समस्या भएको उद्योगको भनाई छ ।
ह्वासिन सिमेन्ट उद्योगका आन्तरिक मामिला तथा व्यवस्थापन विभागका प्रवन्धक दिलराज पोख्रेलले खोपको पर्खाइमा चिनियाँ कामदारहरु रहँदा तत्कालै काम अगाडी बढाउन नसकिएको जानकारी दिए ।
धादिङमा निर्माण भइरहेको सो ह्वासिन नारायणी सिमेन्ट उद्योग १५ अर्ब रुपैयाँ लगानी हुँदै छ । उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।
लकडाउनअघि उद्योग निर्माणस्थलमा २७० जना चिनियाँ र ३५० जना नेपाली कामदार गरी ६२० जना कामदार तीन सिफ्टमा कार्यरत थिए । अहिले चीनमा प्राविधिकसहित २०० जना श्रमिक रोकिएका छन् ।
२०७७ जेठ भित्रै सिमेन्ट उत्पादन थाल्ने तयारी गरिएको सो उद्योग अहिले अनिश्चित भएको छ । सरकारी स्तरबाट गर्नुपर्ने विद्युत प्रसारण लाइनको काम समेत हुन सकेको छैन । खानी सञ्चालनको लागि अनुमति समेत वन मन्त्रालयले दिएको छैन ।
प्रवन्धक पोखरेलका अनुसार खानी सञ्चालनको प्रक्रियामा रहेको र प्लान्ट निर्माण भइरहेको छ । त्यहाँ एक सेक्सनका ८० प्रतिशतजति काम सम्पन्न भएको छ । बन मन्त्रालयले समयमै स्वीकृती नदिँदा प्रसारण लाइन र खानीको काम अगाडी बढाउन नसकिएको उनको भनाई छ ।
यस्तै चीनको लगानीमा होङसी शिवम सिमेन्टले उत्पादन क्षमता बढाएर दैनिक १२ हजार टन पुर्याउने तयारी गरेको छ ।