काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसनलाई घटाएर ०.२५ प्रतिशतमा झार्ने गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । हालको कमिसन दर अत्यधिक भएको लगानीकर्ताहरुबाट गुनासो आएपछि बोर्डले त्यसलाई घटाउन लागेको हो ।
बोर्डका अनुसार ब्रोकरमार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जाने २० प्रतिशत कमिसनलाई व्यवस्थापन गर्न सके ०.२५ प्रतिशतमा झार्न सकिनेछ । अहिले यस विषयमा नेप्सेसँग निरन्तर छलफल भइरहेको बोर्डले जानकारी दिएकोछ ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष भीष्मराज ढुंगाना बाहिरबाट आउने बित्तिकै ब्रोकर कमिसन घटाउने निर्णय हुने बताए । ‘बोर्डका तर्फबाट सम्पूर्ण काम पूरा भइसकेको छ । अध्यक्षज्यूलाई कुरेर बसेको हो,’ उनले भने ।
नयाँ दर कति हुन्छ भन्ने विषयमा अहिले एकिन नभएको उनको भनाइ छ । ‘हाल कायम रहेको दर घट्छ । तर, नयाँ दर कति हुन्छ भन्ने अहिले एकिन भएको छैन,’ उनले भने, ‘लगानीकर्ता संघहरूले ०.२५ प्रतिशतमा झार्न भनिरहेका छन् ।
त्यसबारेमा बोर्डले आवश्यक छलफल बढाइरहेको छ ।’ बोर्डले एउटै दर कायम गर्ने कि फरक–फरक दर राख्ने भन्ने विषयमा पनि छलफल गरिरहेको छ ।
अहिले सेयर किन्ने र बेच्ने दुवैबाट कमिसन लिइरहेको छ । त्यसो हुँदा ०.६० प्रतिशत कमिसन किन्ने र बेच्ने दुवैबाट लिन्छन् । दुवै तिरबाट लिँदा दोब्बर कमिसन ब्रोकरले लिइरहेका छन् ।
पछिल्ला दिनमा कारोबार रकमले नयाँ उचाइ बनाउन थालेको र ९० प्रतिशत सेयर किनबेच अनलाइनबाट हुन थालेपछि हाल कायम रहेको ब्रोकर कमिसन दर घटाउन बोर्डमाथि चौतर्फी दबाब परेको छ ।
अहिले ५० हजारदेखि १ करोड रुपैयाँ भन्दा माथिसम्मका लागि कारोबारअनुसार ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लाग्छ । ५० हजार रुपैयाँभन्दा कमको कारोबारमा प्रतिकारोबार २५ रुपैयाँ शुल्क ग्राहकले तिर्नुपर्छ ।
किन्ने र बेच्ने दुबैले यस्तो कमिसन तिर्नुपर्छ, अर्थात ९ अर्बको कारोबार हुँदा १८ अर्ब रुपैयाँ रकममा ग्राहकहरूले कमिसन तिर्नुपर्ने हुन्छ ।
यसबाहेक ग्राहकबाट धितोपत्र बोर्डले अलग्गै प्रतिकारोबार ०.०१५ प्रतिशत शुल्क पाउँछ ।
ब्रोकरले ग्राहकबाट उठाउने कमिसनमा धितोपत्र बोर्ड, नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) सबैले हिस्सा पाउँछन् । कमिसनबाट उठेको रकममा धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले २० प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् । लगानीकर्ता संघहरुले ब्रोकर कमिसन घटाउन आन्दोलन सुरु गरिसकेको छन् ।