काठमाडौं । १० वटा जलविद्यत् कम्पनीहरुले साढे ३ अर्ब रुपैयाँभन्दा बढीको प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् ।
निर्माणाधीन जलविद्युत् आयोजनामा थप पुँजी जुटाउन कम्पनीहरुले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले ३ अर्ब ५० करोड ६० लाख २१ हजार ८२० रुपैयाँ बराबरको ३ करोड ५० लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।
आईपीओ निष्कासनका लागि ती जलविद्युत् कम्पनीले बोर्डमा निवेदन समेत दिएका छन् । जलविद्युत् कम्पनीले सर्वसाधारणका जनताका लागि १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने हुन्छ ।
निकट भविष्यमै ती कम्पनीले आईपीओ निष्कासन गर्ने जनाइएको छ । बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएका जलविद्युत् कम्पनीको विवरण माथि प्रारम्भिक समीक्षा, टिप्पणी र जवाफ लिएपछि बोर्डबाट स्वीकृती हुनेछन् ।
आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिने जलविद्युत् कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता सेयर रहेकोछ ।
सुभम पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार, तेह्थुम पावर कम्पनीले १२ करोड, हिमालय हाइड्रोपावर लिमिटेडले २२ करोड २५ लाख, बिन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले २५ करोड, मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दैछन् ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ, मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ र रुरु जलविद्युत् परियोजनाले लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।