काठमाडौं । लगानी बोर्डले सहजीकरण गरिरहेका ४ वटा ठूला परियोजनाका लगानीकर्ताहरुले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाएका छन् ।
वीरगञ्ज र भैरहवामा निर्माण प्रस्ताव गरिएको प्राइभेट टर्मिनल एन्ड बल्क ह्याण्डिलिङ फेसिलिटिज परियोजनाको विकासकर्ता फास्ट फ्राइट लिजिस्टिक एन्ड इन्टरनेसनल कार्गो टर्मिलन प्रालिले विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन बुझाएको बोर्डले जनाएको छ । बोर्ड र विकासकर्ताबीच २०७६ मंसिर १५ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
यसैगरी विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्कको विकासकर्ता सीजी लजिस्टिक र सरार्फ ग्रुपले पनि मंगलबार विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । बोर्ड र विकासकर्ताबीच २०७६ असार २ गते एमओयू भएको थियो ।
चाइना नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क दमक क्लिन इन्डष्ट्रियल पार्कले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बोर्डलाई बुझाएको छ । २०७६ साउनमा औद्योगिक पार्क बनाउन ३९ औं बोर्ड बैठकले ५९ अर्ब रुपैयाँ अर्थात ५८ करोड ६१ लाख डलर लगानी स्वीकृत गरिसकेको छ । यो परियोजना ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिज् र दमक क्लिन इन्डष्ट्रियल पार्कले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
यस्तै ८० किलोमिटर लामो मुक्तिनाथ केवल कार बनाउन विकासकर्ता मुक्तिनाथ दर्शन प्रालिले डीपीआर बुझाएको छ । केवलकार बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने डीपीआरले देखाएको छ ।
कुल ८०.१६ किलोमिटर लामो प्रस्तावित केबलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्नेछ ।
बोर्डको कार्यालयमा नेपाल विद्युत् प्राधिकरण र होङ्सी सिमेन्ट परियोजनाका पदाधिकारीबीच आवश्यक विद्युत् प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि छलफल भएको छ ।
सो छलफलमा प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाका लागि प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले ठूला परियोजनाले रोजगारीलगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउने उल्लेख गर्दै त्यस्ता परियोजनाको कार्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए ।