बागमति । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान तथा कार्यालयले वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको राजश्व सरकारलाई बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान/कार्यालयले विभिन्न शीर्षकका नाममा सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् ।
ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तःशुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।
उद्योग, प्रतिष्ठान र कार्यालय गरी हाल कूल १२८ वटा निकाय रहेको हेटैँडा औद्योगिक क्षेत्रभित्र हाल १०३ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । बन्दबन्दीका कारण आजसम्म सञ्चालनमा हुन नसकेका नौ उद्योग रहेका छन् ।
यसैगरी हेटौँडा कपडा उद्योगसहित तीन उद्योग प्रतिष्ठान वर्षोदेखि बन्द अवस्थामा छन् । औद्योगिक क्षेत्रभित्र अन्य सङ्घ संस्था र कार्यालय गरी १३ वटा रहेका छन् । थप २२ उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट ९० करोड र निजी क्षेत्रबाट ५ अर्ब ५० करोड रुपैयाँ रकम लगानी भएको देखिन्छ । ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् ।
विसं २०२० मङ्सिर २० गते स्थापना भएको हटौँडा औद्योगिक क्षेत्रमा कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित दुई हजार ८०१.४८ रोपनी भाडामा दिन मिल्ने क्षेत्रफल र अविकसित तथा ग्रिनवेल्ट ४२६.५२ रोपनी जङ्गल क्षेत्र पर्दछ ।
कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ ।
औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् । औद्योगिक क्षेत्रभित्र विद्युत् क्षमता १० एमभिए, पानी क्षमता १ हजार १५३ प्रति दिन र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर रहेको छ ।
औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ वटा , गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक सङ्घ÷संस्था पाँच रहेका छन् । औद्योगिक क्षेत्रको हातभित्र न्यूनतम दुई/तीन रोपनीदेखि ७५ रोपनीसम्म उद्योग प्रतिष्ठानले जग्गा भाडामा लिई कारोवार सञ्चालन गर्दै आएका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ । औद्योगिक क्षेत्रभित्र साविकको पुरानो क्षेत्र र विस्तारी औद्योगिक क्षेत्रमा गैर उत्पादनमूलक उद्योगले फरक–फरक मूल्यमा जग्गा र भवन भाडामा लिँदै आएका छन् ।