काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको विगतको नेतृत्वले निर्माण व्यवसायीका समस्याहरु समाधान गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष रवि सिंहले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास व्यक्त गरे ।
सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघ सँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने अध्यक्ष सिंहको भनाइ छ । ‘निजी क्षेत्रमाथि चारैतिरबाट औंला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरुबीच सहकार्यको विकल्प छैन,’ अध्यक्ष सिंहले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए । निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्विकार गरे ।
महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघ जस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए । महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न “भिजन पेपर” निर्माणको तयारी भइरहेको भन्दै उनले आवश्यक सरसल्लाह दिन आग्रह गरे ।
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए । विकास बजेटको सबैभन्दा बढी भार बोक्ने क्षेत्र निर्माण व्यवसाय नै रहेको जानकारी गराउँदै पाण्डेले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८ लाख बढीलाई निर्माण व्यवसयाले नै रोजगारी दिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह, सल्लाहकार रमेश शर्मा, सल्लाहकार ग्याल्जे शेर्पा लगायतले उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एवं निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।