काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यले नै कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउने काम गर्नुपर्ने बताए ।
पछिल्लो समय देखिएका समस्याको समाधान गर्न छुट्टै संयन्त्रको विकास गर्नुपर्नेमा पनि पूर्वप्रधानमन्त्री भट्टराईले जोड दिँदै सरकार, निजी क्षेत्र र जनप्रतिनिधि सम्मिलित संयन्त्र निर्माण गरी सबै समस्याहरुको एकीकृत ढंगले छलफल गर्ने व्यवस्था मिलाउन प्रस्तावसमेत गरे ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उल्लेख अवसर पाएको सरकार भएर पनि पछिल्लो तीन वर्षमा औद्योगिक र व्यावसायिक विकासका लागि कुनै काम गर्न नसकेको बताए ।
३४ पटकसम्म भुक्तानी लिन काठमाडौं आएका उनको भनाइ छ । कुनै पनि किसान आफ्नो पेसाबाट आत्मनिर्भर हुन नसक्नुको कारण राम्रो मूल्यसँगै समयमा भुक्तानी नपाउनु नै रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समयमा नै व्यवसाय सूचारु गर्न नसक्दा कर्मचारीको तलब, बैंकको ब्याज र घरभाडा तिर्न अहिलेसम्म पनि समस्या भइराखेको बताए ।
सरकारले उद्यमी व्यवसायी र कृषकलाई लक्षित गरी घोषणा गरेका कार्यक्रम अझै कार्यान्वयनमा आउन नसक्दा समस्या यथावत रहेको बताउँदै पुनरकर्जा कोषको रकम र अवधि बढाउनुपर्ने, साना तथा मझौला उद्योग व्यवसायले सहजै पुनरकर्जा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन माग गरे ।
कृषिलाई उद्योगसँग जोड्ने, विचौलियालाई हटाउने र साना उद्योग व्यवसायको व्यावसायिक निरन्तरता कर्जा उपलब्ध गराउने र नयाँ व्यवसायलाई प्राथमिकतामा जोड दिएमा १० प्रतिशतको आर्थिक वृद्धिदर हालिस गर्न सम्भव भएको अध्यक्ष गोल्छाले बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले ऐन नियम बनाउने, नियमन गर्ने र कार्यान्वयन गर्ने निकायको फरकफरक सोच हुँदा व्यावसायिक वातावरणमा असर परेको बताए । व्यावसायिक नीतिगत स्पस्टता र निरन्तरता भएमात्रै निजी क्षेत्र प्रोत्साहित हुने पनि उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
उद्योगी व्यवसायीहरुले कोभिडपछि कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सरकारले छिटोभन्दा छिटो राहत दिनुपर्ने बताएका छन् । सरकारले घोषणा गरेका प्याकेजको ढिलो कार्यान्वयन हुँदा उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताएका हुन् ।