काठमाडौं । कृषि क्षेत्रको विकास प्रवद्र्धनमा आक्रमक रुपमा अघि बढेको गोल्यान समूहले नेपालबाट पानी निर्यातको पहल थालेको छ । रसुवास्थित एक पानी उद्योगसँग मार्केटिङ तथा ब्राण्डिकको सम्झौता गरेको गोल्यान समूहले निकट भविष्यमै नेपालबाट खाडीमुलुकमा पानी निर्यात गर्ने बताएको छ ।
‘हामीले रसुवाको एक उद्योगसँग मार्केटिङ र ब्राण्डिङको सम्झौता गरेर अघि बढिसकेका छौं,’ गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले क्यापिटल नेपालसँग भने, ‘पानीको ब्राण्डिङको काम सकिएको छ । अब निर्यातका लागि खाडीका देशसँग कुराकानी भइरहेको छ ।’
गोसाइकुण्डको पानी प्रशोधन गरेर स्प्रीङ मिनरल वाटर बनाइएको छ । त्यही पानीलाई खाडीमुलुक पठाउने गोल्यान ग्रुपको तयारी छ । नेपालले पटक–पटक पानी निर्यात गर्ने बताएको थियो ।
विगत तीन वर्षदेखि कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा जुटेको गोल्यान ग्रुपले नेपालको पानी विदेशी भूमिमा पुर्याउन लागेको हो । उत्पादनमूलक, सेवामूलक उद्योगमा स्थापित ग्रुप अहिले कृषि क्षेत्रमा लागेको छ । किसानलाई एकीकृत गरेर खेती प्रणालीलाई विस्तार गरिरहेको ग्रुपले निकट भविष्यमै नेपालको पानी विदेशी भूमिमा लैजान लागेको गोल्यानले जानकारी दिए ।
कृषि उत्पादनलाई माटो ब्रान्ड बनाएर बजारमा आफ्नो उपस्थिति जनाएको गोल्यान ग्रुपले पानी पनि सोही ब्रान्डमा आइसकेको छ । त्यहाँ उत्पादित पानीबाट पहिलो चरणमा १५ देखि २० करोड रुपैयाँको टनओभरको लक्ष्य लिएको छ ।
९९ प्रतिशत विदेशमा निर्यात गर्ने र १ प्रतिशत मात्र नेपाली बजारमा दिने माटो ब्राण्डको योजना छ । पानीका लागि विश्वको दोस्रो देशको रुपमा नेपाल परिचित रहेकाले पनि विदेशमा धेरै माग हुने गरेको बताइएको छ ।
पानी निर्यातमा प्रचुर सम्भावनाहरु रहँदा–रहँदै पनि विभिन्न कारणले पर्याप्त मात्रामा काम हुन नसकेको भन्दै माटो ब्राण्डले केही हदसम्म त्यसको परिपूर्ति गर्ने बताए । ‘फ्रेस वाटरलाई विदेशमा निर्यात गर्न नसकिरहेका बेला हामीले पहल गरेका छौं,’ गोल्यानले भने, ‘यसबाट धेरैलाई बाटो खुल्न सक्छ ।’