सनराइज बैंकले ‘फोर्स मर्जर’को बाटो समाएको छ । सञ्चालकहरूबीच देखिएको विवाद उत्कर्षमा पुग्दा केन्द्रीय बैंकले ‘फोर्स मर्जर’मा लैजाने देखिएको छ । बैंक सञ्चालनको सुरुवातदेखि नै पटक–पटक विवादमा तानिँदै आएको सनराइजलाई मर्जरमा नलगेसम्म समस्या समाधान नहुने निश्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ ।
सनराइज बैंकमा स्थापनादेखि नै एक प्रकारले सञ्चालकहरूबीच विवाद देखिँदै आएको छ । त्यसको पहिलो शिकार बनेका थिए, तात्कालीन महाप्रवन्धक सुमन न्यौपाने । न्यौपानेले पूरै कार्यकाल बिताउन नसके पनि त्यसपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानले भने तोकिएको अवधि पूरै बिताए ।
राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानलाई सनराइजमा सीईओ बनाएर ल्याएपछि भने सञ्चालक समितिको विवाद मत्थर भएको थियो । तर, प्रधान बैंकबाट बिदा भएसँगै सञ्चालक विवादले फेरि ठाउँ लियो । बैंकका अब्बल कर्मचारी मानिएका र प्रधानपछि लामो समय कायम–मुकायम सीईओ भएर काम गरेका बलराम विष्टलाई पूर्ण जिम्मेवारी दिने सवालमा सञ्चालक समिति फेरि विवादमा तानियो र विष्टले सीईओ जिम्मेवारी नै पाउन सकेनन् ।
त्यसपछि बैंकले रत्नराज बज्राचार्यलाई सीईओ बनाएर लग्यो र उनको कार्यकालभरी पनि सञ्चालक समिति विवाद सतहमा आउन पाएन । बज्राचार्यले सञ्चालकहरूलाई उल्टै हप्काउने र उनको कुरा कसैले काट्न नसक्ने भएका कारण ४ वर्षसम्म सञ्चालक विवाद सतहमा आएन । बज्राचार्यको बैंकमा प्रवेशसँगै सनराइजको विवाद पनि मत्थर भएको मानिएको थियो । तर, त्यो क्षणिक रहेछ । बज्राचार्यको बहिर्गमनसँगै सञ्चालकहरूको विवादले उग्ररूप लिएन मात्रै सीईओ नियुक्ति गर्ने र कार्यभार सुम्पनेमै समस्या भयो ।
बज्राचार्यको बिदाइपछि माछापुच्छे बैंकका पूर्वसीईओ निरज श्रेष्ठलाई नियुक्त गर्दा सञ्चालक विवादले उत्कर्षता प्राप्त गरेपछि उनले सनराइज बैंकको सीईओको जिम्मेवारी नै सम्हालेनन् । अध्यक्ष मोतीलाल दुगड र सञ्चालक शैलेन्द्र गुरागाईंबीच नियुक्तिको विषयलाई लिएर तिब्र विवाद भएको थियो ।
बज्राचार्यको बिदाइपछि माछापुच्छे बैंकका पूर्वसीईओ निरज श्रेष्ठलाई नियुक्त गर्दा सञ्चालक विवादले उत्कर्षता प्राप्त गरेपछि उनले सनराइज बैंकको सीईओको जिम्मेवारी नै सम्हालेनन् । अध्यक्ष मोतीलाल दुगड र सञ्चालक शैलेन्द्र गुरागाईंबीच नियुक्तिको विषयलाई लिएर तिब्र विवाद भएको थियो ।
त्यसपछि बैंकले हालका सीईओ जनकराज शर्मालाई व्यवस्थापनको जिम्मेवारी दिएको हो । तर, शर्मा सीईओ भएपछि पनि सञ्चालक विवाद रोकिएको छैन । सीईओ शर्माको विषयलाई लिएर गत असारमा अध्यक्ष दुगड र गुरागाईंबीचको खिचातानीले विवाद सतहमा आएको थियो । त्यसबेला पनि केन्द्रीय बैंकको दबाबमा विवाद साम्य भएको थियो । खासगरी सञ्चालक समिति, अध्यक्ष र सञ्चालक समितिभित्रका विभागीय समितिहरूको नेतृत्व तथा अध्यक्ष र सीईओ मिलेर बैंकमा एकलौटी गरेको भन्ने जस्ता विषयमा विवाद हुने गरेको छ ।
गत साउनमा पनि सीईओ शर्मासँग स्पष्टीकरण सोधिएको भन्ने चर्चा चलेको थियो । त्यसबेला पनि राष्ट्र बैंकको हस्तक्षेपले सञ्चालकबीचको झगडा केही मत्थर भएको थियो । राष्ट्र बैंकको हस्तक्षेपपछि स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले राजीनामा दिएका थिए । सञ्चालक समितिको विवादकै कारण बैंकले अझै स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेको छैन ।
पटक–पटक विवादमा तानिएको सनराइज सञ्चालक समितिको बेमेल फेरि एकपटक छताछुल्ल भएको छ । बैंकमा समस्या भने जहिल्यै रहेको बैंकका पुराना कर्मचारीहरू बताउँछन् । पछिल्ला दिनहरूमा केन्द्रीय बैंकले सनराइज बैंकका सञ्चालकहरूलाई बोलाएर मिलेर काम गर्न निर्देशन मात्र दिएको छैन मर्जरमा जानका लागि साझेदार खोज्न भनेको छ ।
हालको बैंक नेतृत्वले विवाद मात्रै झिकिरहे र मर्ज गर्नका लागि साझेदार नखोजेमा केन्द्रीय बैंकले नै फोर्स मर्जरमा पठाउने भनेर दबाब दिइरहेको छ । सञ्चालकहरूबीच विवाद बढेपछि केन्द्रीय बैंकले बोलाएर मिल्न सुझाएको छ । यदि नभए सुहाउँदो जोडी खोजेर मर्जर गराइदिने चेतावनीसमेत केन्द्रीय बैंकले दिएको छ ।
सनराइज स्थापनादेखिका सञ्चालक मोतीलाल दुगड अहिले अध्यक्ष छन् । त्यतिबेलैदेखि सञ्चालक रहेका बछराज तातेड पनि सञ्चालक कायमै छन् । अन्य सञ्चालकहरू बेलाबेला फेरिए पनि सनराइजको सञ्चालकहरूको मनोमानीपूर्ण प्रवृत्तिमा भने कुनै कमी आएको छैन । एक कालखण्डमा सुषुप्त रहेको सञ्चालक समिति विवाद अर्को कालखण्डमा फेरि उस्तै रूपमा जुर्मुराउने गरेको छ । यसले बैंकको प्रगतिमै धक्का मात्रै लागेको छैन बैंकको ब्रान्डमा समेत सधै झगडा गर्नेको सूचीमा दरिन थालेको छ ।
पटक–पटक विवादमा तानिएको सनराइज सञ्चालक समितिको बेमेल फेरि एकपटक छताछुल्ल भएको छ । बैंकमा समस्या भने जहिल्यै रहेको बैंकका पुराना कर्मचारीहरू बताउँछन् । पछिल्ला दिनहरूमा केन्द्रीय बैंकले सनराइज बैंकका सञ्चालकहरूलाई बोलाएर मिलेर काम गर्न निर्देशन मात्र दिएको छैन मर्जरमा जानका लागि साझेदार खोज्न भनेको छ ।
विगतमा पनि बैंकका सञ्चालकहरू विवाद उत्कर्षमा पुग्दा केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिने गरेको छ । सञ्चालकहरूको विवाद बढ्दै जाँदा कम्पनीको वित्तीय अवस्था बिग्रने र समस्याग्रस्त सूचीमा चढ्ने सम्भावना बढी हुन्छ । विगतमा वित्तीय अवस्था खराब भएको र सञ्चालक समितिमा विवाद बढेको भन्दै विभिन्न बैंकहरूमा राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको उदाहरण छ ।
अझ पछिल्लो समय केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमै लिएका बेला नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेपभलपमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेको थियो ।
राष्ट्र बैंककै नेतृत्वमा एकै पटक धेरै वित्तीय संस्था गाभेर ठूलो बैंक बनाउन भूमिका खेलको केन्द्रीय बैंकले पछिल्लो समय मर्जर र प्राप्तिलाई प्राथमिकतामा राखेको छ । चालू वर्षको मौद्रिक नीतिले पनि अप्रत्यक्ष रुपमा मर्जर र एक्विजिसनलाई प्राथमिकता दिएको छ ।
सनराइजमा सञ्चालक विवादकै कारण सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढ्न सकेन । विगतमा सञ्चालक समिति विवादकै कारण बैंक अफ काठमान्डूमा केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।
सनराइजको विवाद यथावत् देखिए तत्काल व्यवस्थापन नियन्त्रणमा लिइन मर्जरमा लगिने केन्द्रीय बैंकको तयारी छ । यद्यपि केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिन हतार नगर्ने बताइरहेको छ । तर, मर्जरका लागि भने उसले दबाब दिइरहेको सनराइज बैंकका अधिकारीहरूको भनाइ छ ।
१० वर्षदेखि कार्यरत सनराइज बैंकका एक कर्मचारीले भने, ‘विगतदेखिको अनुभवलाई हेर्दा सञ्चालक समितिलाई काबुमा राख्ने सीईओ भएमात्रै बैंक अघि बढ्ने देखियो । नत्र जतिसक्यो छिटो केन्द्रीय बैंकले नियन्त्रणमा लिन्छ, त्यति राम्रो हुन्छ । अन्यथा बैंकमा देखिएको विवादका कारण धराशयी हुने अवस्था आउँछ ।’