काठमाडौं । पर्यटकीय क्षेत्र धुलिखेलमा साहसिक र आकर्षक खेल मानिएको जीपलाईन आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । कोरोना महामारीका कारण विगत ७ महिना बन्द जीपलाईन सेवा पुनः सञ्चालनमा आएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
बन्दाबन्दी (लकडाउन) खुलेर अवस्था सामान्य भएपछि जीपलाईन गर्न पुग्नेको संख्या बढ्दै गएको हो । धुलिखेल जीपलाईनमा अधिकांश आन्तरिक पर्यटक पुग्ने गरेका छन् । बाह्य वा विदेशी पर्यटक त्यति जाँदैनन् । अर्थात, ९५ प्रतिशत हाराहारीमा आन्तरिक र ५ प्रतिशत बाह्य पर्यटक जीपलाईनमा पुग्ने गरेका छन् ।
कोरोनाबाट अवस्था सामान्य हुँदै गएको र अग्रेँजी नयाँ वर्ष सुरु भएसँगै धुलिखेलमा जीपलाईन गर्न जानेहरुको संख्या बढ्न थालेको वल्र्ड वाइल्ड एड्भेन्चर प्रालिका सञ्चालक भूपेश श्रेष्ठ थापाले बताए ।
आन्तरिक पर्यटन आउने ‘सिजन’ मै कोरोनाका कारण जीपलाईन सेवा प्रभावित भएको श्रेष्ठले बताए । अहिले भने तुलनात्मक रुपमा पर्यटक आउन थालेको उनको भनाई छ । दुई वर्षअघि धुलिखेलामा नेपालमै पहिलो पटक जीपलाईन सेवा सञ्चालनमा ल्याइएको थियो ।
दुई वर्षको अवधिमा झन्डै १ करोड रुपैयाँ भन्दा बढी आम्दानी भएको उने बताए । सो आम्दानी पनि अरु थप भौतिक संरचना निर्माणमा खर्चिएको श्रेष्ठले बताए । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठको ५ करोड रुपैयाँ संयुक्त लगानीमा जीपलाईन, रिसोर्ट र एड्भेन्चर पार्क निर्माण भएको हो ।
रजधानीको कोटेश्वदेखि करिव ३३ किलोमिटरको दूरीमा धुलिखेलको जीपलाईनमा पुग्न सकिन्छ । जीपलाईन धुलिखेलकोे थाक्लेडाँडादेखि पाँचखालाको खावासम्म ११ सय मिटरमा गर्न सकिन्छ । ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत समय १ मिनेट २० सेकण्डसम्म जीपलाईन गर्न सकिन्छ ।
यो जीपलाईन युरोपियन सुरक्षा मापदण्डमा आधारित भइ भारतीय प्राबिधिकद्वारा निर्माण गरिएको थियो । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान जिपलाइन र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।
सन् २०१९ फेब्रअरी १४ देखि ब्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । हालसम्म झन्डै साढे ८ हजार आन्तरिक तथा बाह्य पर्यटकले जीपलाईन गरेको कम्पनीले जनाएको छ ।
प्रालिले जीपलाईन सँगसँगै अन्य पूर्वाधार संरचना थप्दै गएको छ । ८ कोठा सहित सुबिधा सम्पन्न रिर्सोट सञ्चालनमा ल्याइसकेको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने) गरी रिर्सोट बनाइएको छ । जहाँबाट विभिन्न हिमाल र जीपलाईन गरिरहेका दृश्य देख्न सकिन्छ ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करिब २० रोपनी क्षेत्रफलमा ८ ओटा फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत निर्माण भइसकेका छन् । एड्भेन्चर पार्कमा बेबि जिपलाइन, भी सेप ब्रीज, टायर ब्रीज, प्लेइङ ब्रीज, ब्रह्मा ब्रीज, हाइ रोप लगायतका खेल खेल्न सकिन्छ । यो बाहेक जीपलाईनसम्म पुग्ने बाटो निर्माण गर्ने र अन्य संरचना पनि थप गर्दै लैजाने सञ्चालक श्रेष्ठको भनाई छ ।
जीपलाईन खेल्दा कति शुल्क लाग्छ ?
साहसिक खेल जीपलाईन खेल्दा आन्तरिक र बाह्य पर्यटकलाइ फरक फरक शुल्क लाग्ने गर्छ । त्यतिमात्र होइन्, तीन प्रकारका जीपलाईनका लागि फरक फरक शुल्क लाग्छ । जसमध्ये क्लासिक (साधरण) जिपलाइनका लागि आन्तरिक पर्यटकलाई २५०० रुपैयाँ (फोटो र भिडियो थप) ५०० रुपैयाँ लाग्छ । सार्क देशका नागरिकलाई ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सुपरम्यान जिपलाइनका लागि आन्तरिक वा नेपाली पर्यटकलाई ३५ सय रुपैयाँ (फोटो र भिडियो थप) र५०० रुपैयाँ लाग्छ । सार्क देशका नागरिकलाई ४० डलर,अन्य देशका नागरिक ४५ डलर शुल्क लाग्छ । टेन्डम (जोडी) जिपलाइनमा आन्तरिक पर्यटकलाई ४५ सय रुपैयाँ (फोटो र भिडियो थप)र ५०० रुप्रयाँ लाग्छ । सार्क देशका नागरिक भए ५० डलर र अन्य देशका नागरिक भए ६० डलर शुल्क लाग्छ ।