काठमाडौं । मुक्तिनाथ विकास बैंक १५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं २०६३ साल पुस १९ गते कास्की, स्याङजा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङजाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीमा बैंक सञ्चालनमा आएको थियो ।
बैंक स्थापनाको दिन पारेर बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्बिन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडकपेटी बाहेकको खालीचौरमा वातावरणमैत्री हरित बगैंचा निर्माणमा सहयोग गरेको छ ।
साथै, बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्दै लगिएको जनाएको छ । त्यसअनुरुप, भिसा कन्ट्याक्टलेस डेविट कार्ड पनि बैंकले सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो ।
यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पोइन्ट अफ सेल(पीओएस) टर्मिनलमा ग्राहकले खरिद गरेका सामग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार २ हजार रुपैयाँसम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्डमार्फत पीओएस टर्मिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।
यसैगरी, भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदिजस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।