काठमाडौं । कोरोना भाइरसबाट पिल्सिएको स्टिल उद्योगमा नयाँ कर्जाको माग देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य आकासिएका बेला नेपालका स्टिल उद्योगले कर्जाको माग गरेका छन् ।
नयाँ उद्योग लगाउन वा आफ्नो उद्योगको क्षमता विस्तार गर्न स्टिल उद्योगले नयाँ कर्जाको माग गरेका हुन् । बैंकहरुका अनुसार पछिल्लो समय ट्रेडिङतर्फ पनि कर्जाको माग ह्वात्तै बढेको छ ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले उद्योगतिरबाट अलिअलि कर्जाको माग आउन थालेको बताए । अहिले पोल्ट्री क्षेत्रबाट अत्यधिक कर्जाको माग आइरहेको छ ।
‘कोरोनाले पोल्ट्री क्षेत्रमा कुनै समस्या ल्याएन । नयाँ औषधि उद्योग लगाउँछौं भनेर ऋण माग्ने पनि बढेका छन्’ उनले भने, ‘औषधिको माग पनि बढ्दो क्रममै छ । खाद्यान्नमा पनि केही कर्जाको माग देखिन्छ ।’
खाद्य उद्योग लगाउनभन्दा पनि आयात गरेर बेच्नेहरुले कर्जा माग गरेको देखिएको छ । त्यसैगरी, जलविद्युत्मा पनि कर्जाको माग राम्रोसँग बढेको छ । केन्द्रीय बैंकले २०८१ सम्म जलविद्युतमा निश्चित प्रतिशत कर्जा प्रवाह गरिसक्नुपर्छ भनेकाले पनि आकर्षण बढेको बैंकहरुले बताएका छन् ।
‘यसबाट के देखिन्छ भने सबैतिर अलिअलि कर्जा विस्तार हुन खोजेको छ,’ कोइरालाले भने, ‘व्यवसाय यसैगरी विस्तार हुँदै गए, कोरोना यही अवस्थामा रह्यो भने अर्थतन्त्रमा आशा गर्ने ठाउँहरु पलाउन सक्छन् ।’
केन्द्रीय बैंकको तथ्यांकबाट पनि मंसिर लागेपछि उद्योग क्षेत्रमा केही सहजता आएको देखिएको छ । माग पनि विस्तारै बढ्दै गएको, कोरोनाको प्रभाव पनि केही कम भएर गएजस्तो, नयाँ ऋणको माग बढ्दै गएको सिनारियो देखिन थालेको छ । विगत केही समयदेखि कर्जाका माग विस्तारै बढ्दै गएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार बजारमा ११० अर्ब रुपैयाँ हाराहारी मात्रै तरलता छ । बैंकमा थुप्रिएको पैसा ऋणको रुपमा विस्तारै बाहिर निस्किन थालेको छ । जुन तहमा ऋणको माग बढ्दै जान्छ र त्यही तहमा तरलतामा संकुचन आउन थाल्छ । किनभने, दुईवटा कुराले तरलताको मापन हुन्छ।
एक रेमिट्यान्सको फ्लो र अर्को पुँजीगत खर्च । पुँजीगत खर्च सरकारले कसरी गर्छ, उसकोमै भर पर्छ । रेमिटेयान्सको फ्लो हेर्दा हिजो जस्तो थियो, आज पनि त्यही अवस्था छ । त्यसैले यो तरलताको स्थिति माघ, फागुनदेखि चैतसम्ममा संकुचन हुँदै जाने बैंकरहरु बताउँछन् ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार पुसको पहिलो र तेस्रो साता समानान्तर रूपमा २२ अर्ब रुपैयाँले कर्जा वृद्धि भएको छ । पुसको तेस्रो साता सो रकममा कर्जा थपिँदा कुल कर्जा ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, पुसको दोस्रो साता १७ अर्बले कर्जा वृद्धि हुँदा ३१ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।