काठमाडौं । सामाजिक सञ्जालहरूमा पछिल्लो समय भाइरल भइरहेको फोटोहरू मध्येको एक हो, चराको गुँड आकारको फोटो । हेर्दा चराको गुँड जस्तै देखिने आकर्षक सो गुँडमा फोटो खिचाएर सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इस्टाग्राममा हाल्ने युवापङ्तिको भीड देखिन्छ ।
यो तस्बिर सार्वजनिक भएको धेरै समय भएको छैन । कोरोना भाइरस महामारीका कारणले गरिएको लकडाउनकै बीचमा यो आकारको गुँड बनाएर अहिले चर्चाको शिखरमा पुगेको हो । आखिरमा यो के हो त ? भन्ने विषयमा अहिलेसम्म यसको नाम कसैले पनि सार्वजनिक गरेको पाइँदैन । अर्थात, कुनै पनि रेष्टुराँ वा रिसोर्टहरूले यसको नाम दिइएको छैन ।

आकर्षक बनाएकाले फोटो खिच्नेहरूको भीड मात्र देखिन्छ । काठमाडौं बाहिर दोलखाको चरिकोट, काठमाडौंको साँखु र चित्लाङ रिसोर्टमा ती वस्तु देखिँदै आए पनि अहिले काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरको ‘द वर्गर हाउस’ले पनि त्यस्तै प्रकारको गुँड बनाएको छ । नेपालीहरूले यसलाई चराको गुँड नाम दिइए पनि विदेशमा भने यसलाई स्वीङ्ग भनिन्छ ।

विशेष गरेर इन्डोनेसियाको पर्यटकीय सहर बालीका रिसोर्टहरूमा यस्तो गुँड देख्न पाइन्छ । त्यहाँका व्यवसायीहरूले पर्यटकहरूलाई नयाँपन दिने उद्देश्यका साथ सुरु गरेको स्वीङ्ग नेपालमा आएर गुँड बनेको छ ।
नयाँ बानेश्वरचोककाे‘वर्गर हाउस’का सञ्चालक विष्णुकुमार पाख्रिनले लकडाउनका कारण रेष्टुराँको व्यवसाय सुस्ताइरहेको बेला ग्राहकहरूलाई आकर्षण गराउन नयाँ आइडिया स्वरूप यो गुँड बनाएको बताए । आफूले पनि सामाजिक सञ्जालमा यस्तो फोटो देखेको बताउँदै त्यसलाई कपी गरेर बनाएको उनको भनाइ छ ।
उनले नेपालीमा यही नाम नतोकिएको बताउँदै जंगलमा पाइने लहरा र निगालोबाट निर्माण गरिएको गुँड भनिएको बताउँछन् । जंगलमा चराहरूले बनाउने गुँड जस्तै देखिने भएकाले यसलाई नेपालीहरूले त्यही नाम दिइएको उनले बताए ।

गुँड बनाएपछि रेष्टुराँमा आउने ग्राहकको संख्या बढेको बताइएको छ । लकडाउनपछि ग्राहकहरूलाई नयाँ के दिने र आफ्नोमा कसरी आकर्षण गराउने भन्ने सोच बनाइरहेको बेला गुँडको अवधारणा अघि सारेको बताउँछन् ।
केही साता अघि न्युरोडका व्यवसायीहरूले ग्राहकहरूलाई आकर्षण गराउन छाता राखेका थिए । तर, पछि मानिसहरूको भीड धेरै बढेपछि आफैंले झिक्नुपर्ने बाध्यतासमेत परेको थियो ।

पछिल्लो समय व्यवसायीहरूले आफ्नोमा ग्राहकहरुलाई आकर्षण गराउन विभिन्न नयाँ आइडिया र अफरहरू ल्याइरहेका छन् । वर्गर हाउसले पनि त्यही आइडियालाई फलो गरेको बताउँछन् ।
वर्गर हाउसले उपत्यकामा मात्र ५० वटाभन्दा बढी आउटलेटहरू सञ्चालनमा ल्याएको छ । ती आउटलेटहरूले ग्राहकलाई आकर्षण गर्नका लागि लाइभ म्युजिकदेखि विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याइरहेको छ ।