काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पुँजीबजारको विकासमा योगदान दिन फोरम गठन गरेको जनाएको छ ।
अध्यक्ष शेखर गोल्छाले पुँजीबजारलाई स्थायी र भरपर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा फोरममार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । महासंघले कार्यसमिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा पुँजीबजार फोरम गठन गरेको हो ।
नवगठित फोरमका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रमशरण थपलिया चुनिएका छन् । त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजु प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैंकिङका संचालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक राजन लम्साल र ग्रीन हिलसिटी प्रालिका प्रवन्धक ज्योति दाहाल रहेका छन् ।
यस्तै, एनआरएन इनफ्रस्टक्चरका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिज प्रालिका प्रवन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा छानिएका छन् भने फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट छन् ।
कार्यक्रममा महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम संचालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रियरूपमा लाग्ने विश्वास प्रकट गरेका छन्।