चौतारा । भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म ७० हजार १८८ परिवार नयाँ आवासगृहमा बस्न थालेका छन् ।
कुल लाभग्राही सूचीमा परेकामध्ये ७९.१ प्रतिशतको तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार २७३ मध्ये दुई २२७ परिवार लाभग्राही सूचीबाट हटाइएको छ । पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा रहेकाले गत असार २१ गतेसम्म सम्झौता गरी मसान्तभित्र पहिलो किस्ता लिई सक्नुपर्ने गरी तोकेको समयसीमाभित्र नआएपछि लाभग्राही सूचीबाट हटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख लक्ष्मणकुमार सेठले बताए ।
भूकम्पबाट अति जोखिममा परेका सेलाङ, बरुवा, सिन्धुकोट, तालामाराङ, मेलम्चीलगायतका पीडितहरुका लागि अझैसम्म सुरक्षित जग्गा फेला नपरेकाले बसोबासको टुङ्गो लाग्न सकेको छैन । त्यस्ता परिवार ९१२ रहेका छन् । त्यसमध्ये हालसम्म प्राधिकरणबाट उपलब्ध भएको थप दुई लाख रूपैयाँबाट जग्गा खरिद गरी २८८ परिवारको आवास निर्माणको काम पूरा भएको र बाँकी ६२४ परिवारको अझै व्यवस्था हुन सकेको छैन ।
भोटेकोशी गाउँपालिकाको लिस्तीका पीडितहरुले जोखिमकै ठाउँमा आवास निर्माण गरी अनुदानसमेत लिइसकेका छन् । जिल्लाका १३ जनाले भने अन्यत्र बसोबास रहेको भन्दै पहिलो किस्ता बापतको ५० हजार रूपैयाँ फिर्ता गरिसकेका छन् । कुल लाभग्राहीमध्ये ८६ हजार ४७ परिवारले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् ।
छुट गुनासोमा पर्न बाँकी पीडितका लागि पहिलो पटक दर्ता गर्न पुनः समय तोकेपछि १८ हजार ६८९ जनाको निवेदन दर्ता भएको छ । त्यसको टुङ्गो केन्द्रले लगाउने भएकाले निक्र्यौल हुन बाँकी नै छ । शुरुको अवस्थामा जिल्लामा ७८ हजार ४८४ लाभग्राही सूचीमा सूचीकृत थिए । त्यसमा वृद्धि हुँदै गएपछि ८८ हजार २७३ पुगेको हो । गुनासोमा दर्ता भएका समेतको गणना गर्दा लाभग्राहीको सूचीमा एक लाख चार हजार ७३५ परिवार पुग्ने देखिन्छ ।
२०७२ सालको भूकम्पबाट यहाँका निजी घर, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालयसमेत गरी ९५ प्रतिशत भवन भत्केको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । रासस