काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा एनएमबी बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुदनाफा गरेको छ । उक्त नाफाबाट सेयरधनीहरुलाई १ अर्ब ५१ करोड रुपैयाँ वितरण गर्न सक्ने बैंकले जनाएको छ ।
पुस मसान्तसम्म बैंकको निक्षेप परिचालन १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिना निक्षेप १४ अर्ब ६१ करोड र कर्जा तथा सापटीमा २१ अर्ब ८८ करोड रुपैयाँले वृद्घि गर्न सफल भएको छ ।
वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्घि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्घि भई ४.४३ प्रतिशत पुगेको छ ।
त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत छ । कर्जा तथा सापट वृद्घि हुनुमा कृषि, उर्जा, साना तथा मझौला कर्जाको योगदान रहेको एनएमबीले जनाएको छ ।
बैंकले पुस मसान्तसम्ममा ३ हजार २३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । बैंकको पुँजीकोष अनुपात १३.६८ र निष्क्रिय कर्जाको अनुपात २.३८ प्रतिशत् छ ।
एनएमबीले विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दोश्रो पटक पुनः २ करोड ५० लाख डलर कर्जाको लागि समझदारी गरिसकेको छ ।
नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने एनएमबी बैंक मात्र हो । बैंकले गत वर्ष र यस वर्ष गरि दुईवटा विकास बैंकहरुलाई प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ ।
बैंकले देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।