माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको निष्क्रिय कर्जा बढेपछि खुद नाफा केही दबाब परेको देखिन्छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ९० लाख रुपैयाँ अर्थात २.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि निष्क्रिय कर्जा बढेपछि खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड २२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज बढेपछि सञ्चालन मुनाफा घट्न पुगेको हो।
पुस मसान्तसम्ममा ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्गमा ५५ करोड ३८ लाख रुपैयाँ र सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ हुँदा जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ९८ करोड १२ लाख रुपैयाँ र सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ थियो।
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ १६ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १७ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.०१ गुणा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर ०.७६ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर १०.२६ प्रतिशतबाट ७.५६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.२४ प्रतिशतबाट ४.१९ प्रतिशतमा झरेको छ।