काठमाडौं । हाल भइरहेकै भुक्तानी सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाका कारण टिक्न नसकिरहेका बेला नेपाल राष्ट्र बैंकबाट नयाँ कम्पनीले कारोबार अनुमति पाएको छ ।
६ महिनाअघि अनुमति माग्दै केन्द्रीय बैंकमा फिनटेक इन्टरनेसनलले दिएको निवेदनलाई सदर गरेको हो । अब बजारमा नयाँ ‘पेमेन्ट गेटवे’ पनि आउने भएको छ । ५ करोड चुक्ता पुँजीसहित फिनटेक बजारमा आउन लागेको हो ।
राजेश अग्रवाल र उषाकिरण अग्रवालले फिनटेक बजारमा ल्याउन लागेका हुन् । वालेटले आफूलाई प्रतिस्पर्धी बनाउँदै नलगे टिक्न नसक्ने अवस्था छ । बैंक आफैंले मोबाइल बैंकिङबाट नयाँ–नयाँ फिचर सार्वजनिक गरिरहेका बेला वालेटहरुले विशेष सुविधासहित ग्राहकबीच नआए उनीहरुको भविष्य संकटमा पर्ने देखिन्छ ।
भुक्तानीसम्बन्धी काम गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) गरी दुई प्रकारका लाइसेन्स वितरण गर्दै आएको छ ।
जसमध्ये नौवटा कम्पनीले पीएसओ र १८ वटा कम्पनीले पीएसपीका लागि अनुमति पाएका छन् । विद्युतीय भुक्तानीका क्षेत्रमा काम गर्ने धेरै संस्थालाई अनुमति वितरण गरे पनि ती संस्थाले पूर्णक्षमतामा काम गरेका छैनन् ।
तैपनि नयाँ–नयाँ वालेट थपिने क्रम रोकिएको छैन । केही समय अघि सेलपे बजारमा आएको थियो । हाल नेपालमा भुक्तानी सेवा प्रदायकको संख्या १८ वटा छ । फिनटेक बजारमा आएपछि १९ वटा भुक्तानी सेवा प्रदायकहरु पुग्ने छन् ।
आइएमई पे ई–सेवा, सेल पे, सिजी पे, खल्ती, मो.रु, क्युपे, पेटाइम, स्मार्ट कार्ड, मोहर पेकार्ड, प्रभुपे, इ–नेट पे, मोको, कुराकानी पे, पेवेल, जीएमई पे, डी पैसा, सुपर याप योपे बजारमा छन् ।