काठमाडौं । ओभर ड्राफ्ट लोन अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले यसलाई गम्भीर रुपमा लिएको छ । अर्थतन्त्रमा कर्जा कता गइरहेको छ भन्ने निक्र्यौल नहुने ओभर ड्राफ्ट लोन बढ्नुले विभिन्न शंका उब्जाएको छ ।
बैंकहरुले घरकर्जाको ऋणको ब्याजदर ६ देखि ७ प्रतिशत बढाए पनि ओभर ड्राफ्ट लोनको ब्याज सस्तोमा दिनुले यो पैसा घरकर्जा, सेयरलगायतका क्षेत्रमा प्रयोग भएको हुन सक्ने केन्द्रीय बैंकले आंकलन गरेको छ ।
बैंकहरुले असारमसान्तमा ४ खर्ब ८८ अर्ब ६० करोड रुपैयाँ ओभर ड्राफ्ट कर्जा प्रवाह गरेका थिए । तर, मंसिर मसान्तसम्ममा त्यो शिर्षकको कर्जा ३३ अर्बले बढेर ५ खर्ब २१ अर्ब ७२ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकबाट देखिएको छ ।
‘पाँच महिनाको अवधिमा अन्य क्षेत्रमा जसरी कर्जा प्रवाह भएको छ, त्यसको तुलनामा ओभर ड्राफ्ट कर्जा अत्यधिक बढि हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसरी कर्जा प्रवाह हुँदा हाम्रो अर्थतन्त्रमा क्रेडिट कता गइरहेको छ भन्ने ठम्याउन सकिँदैन् ।’
ओभर ड्राफ्ट कर्जा घरजग्गा तथा सेयरमा गएको हुनसक्ने केन्द्रीय बैंकको बुझाइ छ । ओभर ड्राफ्टपछि सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह भएको छ ।
असार मसान्तसम्ममा सेयर धितो कर्जा ५० अर्ब रुपैयाँ हाराहारी प्रवाह भएको देखिन्छ । तर, मंसिर मसान्तसम्ममा आइपुग्दा त्यस्तो कर्जा ६७ अर्ब रुपैयाँ पुगेको छ । पाँच महिनाको अवधिमा १७ अर्ब रुपैयाँ सेयर धितो कर्जा बढेको छ ।
एकातिर ओभर ड्राफ्ट कर्जामा देखिएको बढोत्तरी र सेयर धितो कर्जा प्रवाहको रेसियो हेर्दा ओडी पनि सेयरमै लागेको अनुमान गर्न सकिने केन्द्रीय बैंकका अधिकारी बताउँछन् ।
त्यति मात्रै होइन्, जग्गा किनबेच गर्ने तथा घर बनाउनेहरु पनि बढिरहेकै छन् । रियलस्टेट कम्पनीले पनि नयाँ नयाँ परियोजना सार्वजनिक तथा निर्माण गरिरहेका छन् । तर, जुन तरिकाले घरजग्गाको कारोबार भइरहेको छ, त्यस अनुरुप कर्जा प्रवाह नभएको केन्द्रीय बैंकको बुझाइ छ ।
व्यक्तिगत होमलोन (१ करोड ५० लाखसम्मको) असार मसान्तसम्ममा २ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । मंसिर मसान्तसम्मा २ खर्ब ५९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । पाँच महिनाको अवधिमा ७ अर्ब रुपैयाँ मात्रै त्यस्तो कर्जा बढेको देखिन्छ ।
त्यसैगरी, रियलस्टेट लोन (१ करोड ५० लाख माथि) असार मसान्तमा १ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको थियो । मंसिर मसान्तसम्ममा १ खर्ब ६७ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकबाट देखिएको छ । पाँच महिनाको अवधिमा जम्मा ४ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह बढेको छ ।
अहिले ओभर ड्राफ्टले लोन कता गएको छ भन्ने कुराको प्रष्ट तस्विर दिँदैन । यो लोन जुनसुकै क्षेत्रतिर प्रयोग भइरहेको हुन सक्ने केन्द्रीय बैंकले आँकलन छ ।
तर, बैंहरुले ओभर ड्राफ्टमा दिने सुविधा अन्य कर्जामा पनि दिने हो भने ऋणीले त्यही शिर्षकअन्तर्गत ऋण लिन्छ र अर्थतन्त्र कुन दिशातर्फ अघि बढेको भन्ने छुट्याउन सकिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘घरकर्जालाई कडाई गर्दा मान्छेहरुले घरकर्जा लिँदैन, अन्य कर्जा लिएर घर बनाउँछ । त्यसले अर्थतन्त्रमा ‘क्रेडिट अलोकेशन’ कतातिर भइरहेको छ भन्ने तस्वीर देखाउँदैन’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अन्य कर्जाका कन्डिसनहरु छन् ।
त्यस्तै किसिमको कन्डिसन राखेर घरकर्जालाई सहज बनाउनुपर्छ । घरकर्जाका पनि ‘व्याकवार्ड फरर्वाड लिङ्केज’ हुन्छन् । घर निर्माण भयो भने सिमेन्ट तथा रड उद्योगहरु फस्टाउँछन् । रोगजारी सिर्जना हुन्छ ।’जुन ठाउँमा स्रोत जानुपर्ने हो त्यतातिर नगइरहेको केन्द्रीय बंैंकको बुझाइ छ ।