काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैली अपनाएको बताएका छन । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन ।
तेस्रो चौमासिक, बार्षिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसंग पनि सम्झौता नगर्ने चेतावनी दिएका छन ।
उनले सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए ।
‘अब प्रक्रिया मात्र भनेर हुदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्न हामी सबैको दायित्व हो ।’ मन्त्री पुनले भने ।
मन्त्री पुनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए ।
‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुंदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने ।
मन्त्री पुनले अव काम नगर्ने कर्मचारीसंग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे । हरेक महिना मन्त्रालयमा समीक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा गरे । ‘मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ’ मन्त्री पुनले भने ।