काठमाडौं । नेपालकै ठूलो धागो उद्योग रिलायन्स स्पीनिङ मिल्सले वनमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर त्यसबाट धागो बनाउन थालेको छ । अहिलेसम्म नेपालमा अल्लो प्रशोधन गर्न सकिएको थिएन । तर, रिलायन्सले अल्लो प्रशोधन गरेर धागो बनाउन थालेको हो ।
देशको हिमाली तथा पहाडी जिल्लामा पाइने अल्लो संकलन गरेर प्रशोधन गर्ने र धागो बनाएर देशका विभिन्न ठाउँमा भएका अल्लोका कपडा बनाउने उद्योगमा धागो पठाइरहेको छ । त्यसबाहेक रिलायन्सले अल्लोबाट धागो बनाएर विदेश पनि निर्यात गरिरहेको छ ।
अल्लो उत्पादक संघका अनुसार देशमा २ हजार भन्दा धेरै अल्लोबाट कपडा बनाउने उद्योग छन् । रिलायन्सले अल्लो प्रशोधन गर्नुअघि अल्लोका कपडा बनाउने उद्योगले चीन तथा जापानबाट प्रशोधन गरेर ल्याउने गरेका थिए । अब त्यस्तो बाध्यताको अन्त्य भएको छ ।
नेपालको पायोनियर व्यावसायिक घराना एमएस ग्रुप र गोल्यान ग्रुपको संयुक्त लगानीमा उद्योग सञ्चालन भइरहेको छ । गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानको सक्रियतामा रिलायन्समा अल्लो प्रशोधन सुरु भएको हो ।
गोल्यानको अध्यक्षतामा निर्यात महासंघ गठन भएपछि त्यसको सदस्य बन्न अल्लो उत्पादक संघ पनि आइपुग्यो । संघका पदाधिकारीले अल्लोको विषयमा बुझाएपछि अध्यक्ष गोल्यानले त्यसको बारेमा अध्ययन अनुसन्धान थालेको र अहिले प्रशोधन सुरु गरेको जानकारी दिए ।
‘उत्पादनको १० प्रतिशत मात्रै धागो बनाउन प्रयोग भइरहेको छ । ९० प्रतिशत त्यत्तिकै खेर गइरहेको अवस्था छ,’ ग्रुपका अध्यक्ष समेत रहेका गोल्यानले क्यापिटल नेपालसंग भने, ‘रिलायन्सले प्रशोधन सुरु गरेपछि गाउँ गाउँमा अल्लोको खेती गर्नेको संख्यामा वृद्धि हुने र उत्पादन लागत पनि कम पर्छ ।’
उनका अनुसार मौलिक उत्पादनको गलत ठाउँमा प्रयोग भइरहेको थियो । यसलाई एक तहको प्रशोधन गरेर धागो बनाएर कोरिया निर्यात गरेको अध्यक्ष गोल्यानले बताए । विदेशबाट अल्लोको धागोको अत्यधिक माग बढेको उनको भनाइ छ ।
रिलायन्सबाट अल्लो र फाइवर मिसाए धागो बनिरहेको छ । निकट भविष्यमा अल्लो र कटन मिसाएर धागो बनाउने तयारी भएको मिल्सका प्रबन्ध निर्देशक अक्षय गोल्यानले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँबराबरको अल्लो खरिद गर्ने लक्ष्य छ । अहिले उद्योगले संघमार्फत देशभरबाट अल्लो संकलन गरिरहेको छ । गाउँमा धागो बनाउनेहरुले भन्दा बढी मूल्यमा अल्लो लिइरहेको कम्पनीको दाबी छ । कम्पनीले प्रतिकेजी १८० रुपैयाँमा अल्लोको घाँस किनिरहेको छ ।
अल्लो उत्पादक संघका अनुसार २ लाख मान्छे अल्लो खेतीमा लागेका छन् । २ लाख मान्छेबाट संकलन गरेर अल्लो संघले रिलायन्सलाई दिन्छ । उद्योगले उक्त घाँसलाई प्रशोधन गर्छ र धागो बनाउँछ । अहिलेसम्म नेपालमा अल्लोलाई प्रशोधन गर्न सकिएको थिएन । अल्लो प्रशोधन गर्न जापान, चीन पठाउनुपर्ने बाध्यता थियो । विदेशमा प्रशोधन भएर नेपालमा धागो आइरहेको थियो ।
अब अल्लो प्रशोधनका लागि विदेश पठाउन नपर्ने अक्षय गोल्यानले बताए । अल्लोको धागोबाट कोटको कपडा, ब्याग, मास्क बनिरहेका छन । अहिले पनि अल्लोको उत्पादन जापान र कोरिया निर्यात भइरहेको छ । रिलायन्सले अल्लोको धागो बनाएर निर्यात गर्ने तयारी गरेको छ ।
रिलायन्सले २ हजार भन्दा बढी अल्लोबाट कपडा बनाउने उद्योगलाई संघमार्फत धागो बेचिरहेको छ । अहिले संघले अल्लोको घाँस दिने र रिलायन्सले धागो बनाएर दिने समझदारी भएको गोल्यान ग्रुपका अध्यक्ष पवनले जानकारी दिए । संघमार्फत देशका विभिन्न ठाउँमा रहेको उद्योगलाई धागो आपूर्ति हुन्छ ।
अल्लो प्रशोधन गर्न रिलायन्सले १५ करोड रुपैयाँ लगानी थप गर्दैछ । अहिले भइरहेको मेसिनबाट अल्लोको धागो बनाउन सकिँदैन् । अल्लो प्रशोधन गर्न नयाँ मेसिन आवश्यक पर्छ । तर, अहिले उद्योगले थोरै थोरै माल बनाएर दिइरहेको छ । नाफा कमाउने भन्दा पनि नेपालको मौलिक वस्तुलाई जोगाउन र बढावा दिन लागिएको पवन गोल्यानले जानकारी दिए ।