काठमाडौं । लामो समयदेखि बन्द रहेको बासुलिङ सुगर एन्ड जनरल इन्डष्ट्रिज लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । मिल पुनःसञ्चालनका लागि भारतीय कम्पनी ग्रेट सेभेन फाइनान्सले लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । उखु नपाएपछि २०६२ देखि चिनी मिल बन्द छ ।
भारतीय कम्पनीको प्रस्तावले लामो समयदेखि बन्द रहेको चिनी उद्योग पुनः सञ्चालनमा ल्याउने संभावना बढेको छ । भारतीय कम्पनीले उद्योगको पुनर्संरचना गरी सञ्चालनमा ल्याउने जानकारी लगानी बोर्डलाई गराएको छ । उद्योगको पुनर्संरचना गर्न ९ अर्ब ७९ करोड रुपैयाँ भारतबाट लगानी ल्याउने प्रस्ताव गरेको बोर्ड स्रोतले क्यापिटल नेपाललाई बतायो ।
भारतीय कम्पनी ग्रेट सेभेनले मिलको संरचनामा सुधार गरी नयाँ रिफाइनर प्लान्ट राख्नुका साथै यसअघि किसानलाई तिर्नुपर्ने दायित्व र बैंकको ऋणसमेत भुक्तानी गर्ने प्रस्ताव गरेको स्रोतको भनाइ छ । कम्पनीले लगानी स्वीकृतिका लागि बोर्डलाई अनुरोधसमेत गरेको छ । उसले नेपाली किसानहरूबाट उखु किनेर उच्च गुणस्तरको चिनी उत्पादन गरी आन्तरिक बजारका साथै विदेशमा निकासीको योजना बोर्डमा पेस गरेको छ ।
लगानी बोर्डको हालै बसेको ४६ औं बैठकमा सुगर मिलको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, उद्योगमन्त्री लेखराज भट्टले लगानीको विषयमा थप छलफल गर्नुपर्ने अडान राखेपछि पुनः यस विषयमा अध्ययन गरिने भएको हो । यसअघि उद्योगको प्रस्तावको अध्ययन गर्न बोर्डले एक समितिसमेत गठन गरेको थियो ।
लगानीकर्ताले उद्योग सञ्चालनको मोडालिटी र लगानीको विषयमा प्रस्तुतीकरण गरेपछि पुनः अर्को बोर्ड बैठकमा पेस हुने भएको छ । संभवतः आगामी बोर्ड बैठकबाट चिनी उद्योग सञ्चालनका लागि निर्णय हुने बोर्ड स्रोतको भनाइ छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले २०५१ मा वासुलिङा सुगर एन्ड जनरल इन्डष्ट्रिज लिमिटेड कैलालीको चुहामा स्थापना गराएका हुन् । सो उद्योगमा भारतको दि धामपुर सुगर मिल्स लिमिटेड (डीएसएम) को समेत लगानी थियो । लामो समयदेखि बन्द भएका कारण उद्योगका सबै उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेको बताइएको छ ।
उद्योगले कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका करिब १ लाख किसानबाट उखु खरिद गर्दै आएको थियो । उद्योगले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन नेपाल औद्योगिक विकास निगम, कर्मचारी सञ्चय कोष र नेपाल बैंकबाट गरी कुल ५७ करोड १७ लाख २८ हजार ऋण तथा स्वपँुजी (इक्विटी) २५ करोड ६४ लाख ३४ हजार गरी कुल ८२ करोड ८१ लाख रुपैयाँ लगानी भएको थियो ।
उद्योगले पोर्चुगलसम्म चिनी निर्यात गर्न थालेको थियो । दैनिक २५ हजार क्विन्टल उखु पेल्ने गरेको उद्योगले वार्षिक २ लाख क्विन्टल चिनी उत्पादन गरेको थियो । त्यसबाट उखु किसानहरूले २० करोड रुपैयाँसम्म पाएका थिए ।
त्यसबेला उद्योगले उखुका बिरुवा, मलखाद र जोताइको अग्रिम खर्चसमेत दिएर उत्साहित पारेपछि सुदूरपश्चिमेलीहरू उखु खेतीमा हौसिएका थिए । २०६२ मा माओवादीले उद्योगका कार्यकारी निर्देशक चन्दलाई नै अपहरण गरेको थियो । त्यसपछि उद्योग बन्द हुन पुगेको थियो ।
बैंकको ऋण नतिरेर कालोसूचीमा परेको वासुलिङाको करिब ४० करोड रुपैयाँ ऋण छुट दिन प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।
मिलले बैंकहरूबाट लिएको ५७ करोड १७ लाख साँवा र त्यसको १४ वर्षको ब्याज गरी १ अर्ब रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । ०५२ सालमा ऋण लिएदेखि उनले साँवा तथा ब्याज केही पनि तिरेको छैन । साँवा तथा ब्याज नतिरेकाले वासुलिङाकाका कार्यकारी निर्देशक चन्द कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका थिए ।
भारतको उत्तर प्रदेशमा चन्दका आफन्तले चलाएको चिनी मिल उत्तर प्रदेश सरकारले हटाएपछि मेसिन नेपालमा ल्याई सञ्चालन गरिएको थियो ।
सरकार र सञ्चालकबाट मिल पुनः संचालका लागि विगतमा पटक–पटक प्रयासहरु भएका थिए । तर द्वन्द्वको चेपुवामा परेको मिल सञ्चालनमा आउन सकेको थिएन । चौबिसै घण्टा संचालन हुने मिल सशस्त्र द्वन्द्व चरमोत्कर्समा पुगेका बेला सुरक्षाको कारण दिउँसो मात्र सञ्चालन हुन थाल्यो ।
पूर्ण क्षमतामा संचालन नहुँदा घाटामा जानु र सुरक्षाका कारण मिल बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक बताउँछन ।सुरक्षाको कारण भन्दै राजमार्ग छेउछाउमा उखु लगाउन दिइएन । उखु लगाउने किसान घटेपछि कच्चा पदार्थको अभाव भयो ।