काठमाडौं । भारत सरकारले भारतीय व्यवसायीविरुद्ध नेपाली व्यापारीले लिखित रुपमै गुनासो (कम्प्लेन) राख्न सक्ने व्यवस्था गरेको छ । भारत सरकारले एक पोर्टल निर्माण गरेर त्यसमा नेपाली व्यवसायीले भारतीय व्यापारीविरुद्ध गुनासो गर्न सक्ने व्यवस्था गरेको हो ।
यसले नेपाली व्यवसायीमाथि भारतीय व्यापारीले गर्ने गरेको थिचोमिचो रोकिने सम्भावना छ । भारतीय व्यापारीले नेपाली व्यवसायीमाथि हेप्ने, समयमा समान डेलिभर नगर्ने, गुणस्तरीय सामान नपठाउने, भुक्तानी लिने र मालसामान पठाउन आनाकानी गर्नेलगायतका समस्या थिए । त्यसलाई रोक्न भारत सरकारले बनाएको पोर्टल उपयोगी हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।
‘अहिलेसम्म भारतीय व्यापारीमाथि गुनासो राख्ने कुनै प्लेटफर्मको निर्माण भएको थिएन्,’ मुरारकाले भने, ‘तर, पहिलो पटक भारत सरकारले नेपाली व्यवसायीलाई परेको समस्या सुन्न त्यहाँका व्यापारीमाथि कम्प्लेन राख्न सक्ने गरी पोर्टल निर्माण गरेको छ । यसले नेपाल/भारत दुवैतर्फका व्यवसायीलाई फाइदा पुग्छ ।’
भारतीय व्यापारीसँग नेपाली व्यवसायीको धेरै समस्या छन् । कैयौं व्यापारीको पैसा अहिले पनि भारतीय व्यापारीले फर्काएका छैनन् । पूर्वअध्यक्ष मुरारका भन्छन्, ‘भारतीय आयल कर्पोरेसन (आईओसी)ले कैयौं वर्ष अघिको पैसा अहिलेसम्म दिएको छैन ।’
माघ २६ गतेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रबाट भारतको परराष्ट्र मन्त्रालयको सन् २०२१ जनवरी २१ को कूटनीतिक नोटबाट भारत सरकारको विदेश व्यापार महानिर्देशनालयको वेबसाइटमा गई सर्भिसअन्तर्गत क्वालिटी कम्प्लेन एण्ड ट्रेड डिसप्युटमा गएर नेपालस्थित जुनसुकै विदेशी व्यापारिक व्यक्ति वा संस्थाले भारतसँग सम्बन्धित व्यापारिक विवाद/गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय व्यापारीसँग नेपाली व्यापारीको विवाद भएको खण्डमा उनीहरुविरुद्ध गुनासो राख्न सकिने व्यवस्था गर्नु राम्रो भएको बताए ।
उनका अनुसार यसअघिसम्म भारतीय व्यापारीका कारण धेरै नेपाली व्यापारीलाई परेको अप्ठयारो पर्दा कतै पनि गुनासो राख्न पाइने व्यवस्था थिएन । पहिलो पटक भारतीय सरकारले नेपाली व्यापारीको गुनासो सुन्न पोर्टलको व्यवस्था गरेको मोरको भनाइ छ ।
‘एउटा दरमा सामानको कन्ट्रयाक गरियो । तर, पछि भाउ तलमाथि हुन्छ । त्यो सामानको भाउ बढ्यो भने सामान नै दिँदैनन्’ उनले भने, ‘यस्ताखाले गुनासा भारतीय सरकारसमक्ष राख्न सकिने भएको छ ।’ भारतीय यो कदमले नेपालीलाई राम्रो गर्ने व्यवसायीहरुले बताएका छन् ।
केही समयअघि भारतीय व्यापारीको उधारो उठाउन पनि त्यहाँको सरकारले समाधान पोर्टल बनाएर अघि बढेको थियो । त्यो पोर्टलमा उधारो लैजानेको सम्पूर्ण विवरण राख्ने व्यवस्था गरिएको थियो । अहिले आफ्ना व्यापारीले केही गल्ती गरेका छन् भने त्यो गुनासो राख्नका लागि नयाँ पोर्टल बनाएको हो ।