काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसँग माग गरेको छ ।
महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटी उक्त माग गरेको हो ।
भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरेको छ । कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भैरहेकाले महासंघसँग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउन ढकालले सरकारकाे ध्यानाकर्षण गराए ।
सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गरेका छन् ।
पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरेको महासंघले जनाएको छ ।
सो अवसरमा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन सुरु गरिएकाले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताए ।
मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिएका छन् । भेटवार्तामा महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति रहेको थियो ।