काठमाडौं । सरकारले बजेटमार्फत तयारी वस्तु र कच्चा पदार्थबीच भन्सारदर एक तहको फरक पार्ने बताए पनि व्यवहारमा त्यस्तो नभएको पाइएको छ ।
देशमा औद्योगिक विकास गर्न सरकारले बजेटमार्फत कच्चा पदार्थ र तयारी वस्तुको भन्सारदर एक तह फरक बनाउने बताएको थियो । तर, अहिले पनि जुत्ता चप्पलको सोल र सोल बनाउन चाहिने कच्चा पदार्थको भन्सार दर समान हुनुले सरकार औद्योगिक वातावरण बनाउन गम्भीर नभएको पुष्टि भएको छ ।
आवश्यक पर्ने सम्पूर्ण सोल नेपालमै बनाउने उद्योग लागिसकेको अवस्था छ । तैपनि सरकारले सोललाई कच्चा पदार्थ मानेर १० प्रतिशत भन्सार लगाइरहेको छ । जबकि, सोल बनाउन चाहिने कच्चा पदार्थ आयात गर्दा पनि १० प्रतिशत नै भन्सार लाग्ने गरेको सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।
सिद्धार्थ ग्रुपले मिनालो ब्रान्डमा जुत्ता चप्पलको सोल बनाइरहेको छ । कम्पनीले नेपालको सोलको मागलाई धान्ने गरी उद्योग लगाएको हो । त्यतिमात्रै हाेइन कम्पनीले सोल उत्पादन गरेर विदेश समेत निर्यात गरिरहेको छ ।
उद्योगीहरुले पटक-पटक सोललाई तयारी वस्तुको सूचीमा राख्न सरकारलाई आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन । टफन ग्लासको अवस्था पनि त्यस्तै छ । नेपालमा टफन ग्लास बनाउनु र विदेशबाट आयात गरेर ल्याउनुमा भन्सारमा कुनै फरक नभएको सम्बद्ध उद्योगीहरुले बताएका छन् । कच्चा ग्लास ल्याउँदा पनि ३० प्रतिशत भन्सार र टफन गरिएको ग्लास ल्याउँदा पनि ३० प्रतिशत नै भन्सार रहेको उद्योगीहरुले बताएका छन् ।
उद्योगीले बारम्बार सरकारलाई यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको केडिया अर्गनाइजेसनका प्रवन्ध निर्देशक मनोज केडियाले जानकारी दिए । केडिया अर्गनाइजेसनले झण्डै १ अर्ब रुपैयाँको लागतमा टफन ग्लास उद्योग सञ्चालनमा ल्याएको छ ।
तयारी वस्तु र कच्चा पदार्थको भन्सार समान हुँदा आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग धरासायी हुने अवस्थामा पुगेको उद्योगीहरु बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य समेत रहेको उद्योगी अग्रवालले नेपालबाट ४६७ रुपैयाँका दरले सोल विदेश निर्यात भइरहेको छ ।
यस्तै विदेशबाट २१७ रुपैयाँका दरले आयात भइरहेको छ । यदि सरकारले सोललाई तयारी वस्तु मानेर सो सरह भन्सार लगाएको अवस्थामा नेपालमा धेरै सोल उत्पादन गर्ने उद्योग लाग्ने र विदेशमा समेत ठूलो परिमाणमा निर्यात गर्न सक्ने उनीहरुको भनाइ छ ।