काठमाडौं । भारत सरकारको लगानीमा निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएका छन् ।
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण–३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताए ।
‘सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौं,’ मन्त्री पुनले भेटमा भने, ‘तपाईंहरुले समय सीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ ।’
एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण–३ जलविद्युत् परियोजना समय सीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले सरकारका तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए ।
धिमानले टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए ।
भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतका बारेमा चासो राखेका थिए ।
जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतिका बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
उनले नेपालमा पछिल्लो समय लगानीका लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीका लागि इच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए ।
९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सम्झौता भएको छ ।
आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।