काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा हुने बेथितिको अन्त्य गर्न लेखापरीक्षणसम्बन्धी वर्तमान अभ्यास परिवर्तन गर्ने तयारी गरेको छ ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)को १४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले विश्वव्यापी रुपमा लेखापरीक्षणको नयाँनयाँ ढाँचा प्रयोगमा आइसकेकाले परम्परागत पद्धति परिवर्तनको तयारी थालिएको बताए । यसैवर्षदेखि लेखापरीक्षणको अभ्यास परिवर्तन गरिने उनको भनाइ थियो ।
उनले लेखापरीक्षण प्रणालीमा सुधार गरिएको भए पनि लेखापरीक्षकमा पूरानै प्रवृत्ति देखिएको भन्दै सकारात्मक प्रयत्नको खाँचो औँल्याए । लेखापरीक्षणका क्रममा हुने सानो गल्तीले ठूलो जरिवानामा पर्न सकिनेतर्फ सचेत गराउँदै महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्दा÷गराउँदा विशेष ध्यान दिन आग्रह गरे ।
“यहाँले आफ्नो दायित्व राम्रोसँग बहन गरिदिनुहोस्”, उनले भने “नियतवश कसैलाई दुःख नदिनुहोस्, लेखा व्यवसायको सिद्धान्तमा रहेर काम गर्नुहोस् ।” उनले पारदर्शीता, वित्तीय तथा आर्थिक अनुशासन, आर्थिक तथा सामाजिक परिवर्तनमा सघाउ पुग्नेगरी काम गर्न आग्रह गरे ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले लेखापरीक्षकको पेशालाई थप मर्यादित र व्यवस्थित बनाउन लेखा तथा लेखापरीक्षणमान, निर्देशन र आचारसंहिताको पूर्ण पालनामा जोड दिए । अडानका संस्थापक अध्यक्ष कमल खरेलले लेखापरीक्षकमाथि समाजले गरेको विश्वास कायम राख्नुपर्ने चुनौती बढ्दै गएको बताउँदै यस पेसालाई थप विश्वसनीय बनाउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कर सङ्कलनमा लेखापरीक्षकले दिएको योगदानलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिँदै लेखापरीक्षकको क्षमता अभिवृद्धिमा महासङ्घले सहयोग गर्ने बताए ।
कार्यक्रममा अडानले प्रकाशन गरेको ‘अडान अर्थमाला’को विमोचन गरिएको थियो । रजिष्टर्ड लेखापरीक्षकको साझा छाता सङ्गठनका रुपमा रहेको अडानको उपत्यकासहित आठ प्रदेश समिति र ६८ जिल्ला समिति रहेको छ । अडानमा करीब सात हजार लेखापरीक्षक आबद्ध छन् ।