काठमाडौं । बहुमूल्य धातु सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । एकै दिनमा सुन तोलाको १ हजार ५०० रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ६९ हजार ५०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै सर्वाधिक मूल्य हो । मङ्गलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो । सोमबार ६७ हजार ८०० पुगेको थियो ।
साउनको सुरुदेखि नै सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइ छ । साउन १ गते प्रतितोला सुनको मूल्य ६४ हजार ५०० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा बढेपछि यसको असर नेपाली बजारमा परेको हो । अहिले स्थानीय बजारमा किन्नेभन्दा बेच्ने बढी रहेको महासङ्घले जानकारी दिएको छ ।
यी हुन् कारण
विश्वमा बढ्दो तनाव
चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । त्यसमा इरानसँग अमेरिका र बेलायतको तनाव, उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको हो ।
ट्रम्पको व्यापार नीति
चीन र अमेरिकाको व्यापार युद्धसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको अर्थतन्त्रका लागि लिएको नीतिले पनि सुनको भाउ बढाउन भूमिका खेलेको देखिएको छ । अमेरिकाले लिएको नीतिका कारण इन्धनको भाउ र सेयर बजारमा ओरालो लाग्दा लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रका रुपमा लिएका छन् । गत शुक्रबार चीनसँगको वार्ता निष्कर्षविहीन भएपछि ट्रम्पले थप वस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
काश्मीरमा बढ्दो तनाव
जम्मु र काश्मीरको विषयमा भारतले लिएको निर्णयविरुद्ध पाकिस्तान र चीन उभिएपछि त्यहाँ झन् तनाव बढ्ने देखिन्छ । काश्मीरको तनावले गर्दा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असरसमेत नेपालमा परेको हो ।
नेपाल राष्ट्र बैङ्कले बुधबार १ डलरबराबर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । डलरसँग भारु कमजोर भएपछि यसको असर नेपाली मुद्रामा पनि परेको हो ।
नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको महासङ्घले जनाएको छ । भाउ बढेपछि घटेर दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ । बजारमा अहिले किन्नेभन्दा बेच्ने बढी देखिएका छन् ।