काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औसत गतिमा हिँडेर गन्तव्य पहिल्याउन मुस्किल हुने बताएका छन् । शनिबार प्रभु बैंकको सहयोगमा क्यापिटल बिजनेस म्यागजिन र क्यापिटल नेपाल डटकमले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमीहरूसँग अर्थमन्त्री’ विषयक अन्तक्र्रियामा अर्थमन्त्री पौडेलले मुलुुक जटिल अवस्थामा रहेकाले औसत गतिमा हिँडेर लक्ष्य नभेटिने स्पष्टपारे । उनले गति बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सबै क्षेत्रको उत्तिकै सहयोग र समन्वयको आवश्यकता रहेको औंल्याए ।
मुलुुकले कोभिड–१९ बाट नयाँ शिक्षा पाएको भन्दै उनले आगामी बजेट नयाँ ढंगबाट निर्माण गर्नुपर्ने र त्यसमा उद्यमी/व्यवसायीहरूको जायज समस्याहरूलाई समाधान गर्ने बताए । ‘उद्योगी/व्यवसायीका समस्याहरूमा सरकार गम्भीर छ,’ अर्थमन्त्री पौडेलले भने, ‘युवा उद्यमीहरूका सम्भव र जायज मागहरूलाई सम्बोधन गर्न सरकारले कुनै कन्जुस्याईं राख्नेछैन ।’ अर्थमन्त्री पौडेलले युवा उद्यमीहरूको आवाजले सरकारले सुन्ने र मुलुक परिवर्तन गर्न हरेक क्षेत्रमा निजी क्षेत्रसँगै अघि बढ्ने बताएका हुन् ।

सरकार अहिले आगामी आर्थिक वर्ष (२०७८/७९) को वार्षिक बजेट निर्माण प्रक्रियामा छ । राजनीतिक अस्थिरताका संकेतहरूकाबीच सरकारले नयाँ बजेट निर्माणको तयारीलाई तीव्रता दिइरहेको छ । स्थिर भनिएको वर्तमान सरकारले आगामी जेठ १५ गते बजेट घोषणा गरेमा चौथो बजेट हो । त्यसैक्रममा क्यापिटलले युवा उद्यमी/व्यवसायीसँग पहिलो पटक अर्थमन्त्रीसँग बजेट छलफल आयोजना गरेको हो ।
सो अवसरमा युवा उद्यमीहरूले नेपालमा उत्पादन लागत बढी रहेकाले बिजुली सस्तो बनाउनुपर्नेमा जोड दिएका छन् । शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले बिजुली महसुल महँगो भएकाले नेपालमा औद्योगिक उत्पादन लागत बढेको बताए । उत्पादन लागत सस्तो बनाउन बिजुलीको डिमाण्ड शुल्क हटाउनुपर्नेमा उनले जोड दिए ।

उत्पादन लागत सस्तो भए मात्र प्रतिस्पर्धी क्षमता बढ्ने उनको तर्क छ । उनले कच्चा वस्तु र तयारी वस्तुको भन्सारदर एउटै हुँदा उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकेको भन्दै आगामी बजेटमा भन्सारदर फरक गर्न अग्रवालले अर्थमन्त्रीसँग अनुरोध गरे ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति भरत आचार्यले विभिन्न कारणहरूले गर्दा नेपालमा उद्योगको जीवन छोटो भएको बताए । उनले पनि उद्योगको उत्पादन लागत घटाउन बिजुली महसुल कम हुनुपर्नेमा जोड दिए । महत्वपूर्ण र रणनीति बाहेक अन्य क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा उनको जोड थियो । उद्योग राख्नका लागि जग्गा महँगो हुने गरेको बताउँदै उद्यमी आचार्यले सरकारी जग्गालाई ल्याण्डपुलिङ गर्न सुझाए ।
न्यून बिजिकीकरणले नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेको युवा उद्यमी अमिर राणाको गुनासो रहेको छ । न्यून बिजिकीकरणको समस्या समाधान भएमा नेपाली उद्योगको प्रतिस्पर्धा क्षमता बढ्ने उनको भनाइ थियो । अर्का युवा उद्यमी तथा निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाले कृषिलाई अझ बढी व्यवसायीकरण बनाउन ‘एग्रो प्रोसेसिङ जोन’ स्थापना गर्न अर्थमन्त्री पौडेललाई सुझाए ।
पछिल्लो समय नव प्रवर्तक (स्टार्टअप) आक्रामक रूपमा देखिएको बताउँदै यसलाई थप प्रोत्साहित गर्न स्टार्टअप नीति बनाउन युवा उद्यमी उदीप श्रेष्ठको सुझाव थियो । पञ्चकन्या ग्रुपका सञ्चालक श्रेष्ठले यस्ता व्यवसायलाई प्रोत्साहन गर्न बिनाधितो कर्जा र केही समय कर छुटको आवश्यक रहेको औंल्याएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ चलचित्र फोरमका सभापति तथा आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सहज रूपमा कर्जा पाउने व्यवस्था मिलाउन अर्थमन्त्रीको ध्यानाकर्षण गरेका थिए । उनले चलचित्र उद्योगबाट थप राजश्व उठाउन चलचित्र विकास शुल्क लागू गराउन सरकारलाई सुझाए ।
सेयर लगानीकर्ता अजय श्रेष्ठले धितोपत्र बजारको विकासका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको औंल्याए । यस्तै वैदेशिक लगानी ल्याउन नेपालको सार्वभौम शाख (क्रेडिट रेटिङ) को काम छिटो सक्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । महिला युवा उद्यमी निकिता प्रधानले जलविद्युत् आयोजनाको क्षमता बढाउन क्यू ४० बाट घटाउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा आइस्पानका अध्यक्ष सुधीर पराजुली, व्यवसायी नरेन्द्रबहादुर साउद, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी, शाराडा ग्रुपका सञ्चालक गौरव शाराडा र होटल व्यवसायी विधाता श्रेष्ठले उद्योग व्यवसायमा देखिएका समस्याका बारेमा अर्थमन्त्री पौडेललाई जानकारी गराएका थिए । अन्तक्र्रियामा २५ भन्दा बढी युवा उद्यमीको सहभागिता थियो ।